काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजारका सरोकारवाला तथा नियमनकारी निकायका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए।
प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेहरूलाई प्रोत्साहन र गलत कार्य गर्नेविरुद्ध शून्य सहनशीलताको नीति सरकारको रहेको स्पष्ट पारे।
छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिहरूले पुँजी बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार आवश्यक रहेको बताए।
प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरू उत्साहित भएको उल्लेख गर्दै उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँ पुर्याउने वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।
त्यस्तै, बैंक तथा वित्तीय संस्थामार्फत ‘मार्जिन’ कारोबारका लागि ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्नेमा उनीहरूले जोड दिए।
बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था गर्न पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
त्यसैगरी, व्यक्तिगत कारोबारमा भएको नोक्सानीलाई कर समायोजन गर्न सकिने व्यवस्था मिलाउन अर्थ मन्त्रालयले पहल गर्नुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने माग उनीहरूले राखे।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई रणनीतिक साझेदारसहित पुनःसंरचना गर्न तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने वातावरण बनाउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।
नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्टले सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा ‘नेपालको पुँजी बजार मार्गचित्र २०८३’ लागू गरिसकेको जानकारी दिए।
त्यस्तै, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजार सुधारका लागि आवश्यक कानुन निर्माण तथा संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त ढाँचा तयार गरी अघि बढाइने उल्लेख गर्दै उनले धितोपत्र बोर्डले जारी गरेका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।


