काठमाडौँः साताकाे चाैथाे काराेबार दिन बिहिबार (आज) सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २ हजार ७२६.७२ को विन्दुमा बन्द भएको छ।
आज कारोबारमा आएका ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच भएको छ भने ४ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ। यससँगै १२ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ।
आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । उक्त कम्पनीको मात्र २८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


