काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो।
आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न भएपछि योजना व्यवस्थापकको २०८३ साउन ८ गते अपराह्न ३ः१५ बजे बसेको सञ्चालक समितिको २०६औँ बैठकले इकाईधनीलाई करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
खुलामुखी योजना भएकाले इकाईधनीलाई लाभांश रकम पुनः लगानी गर्ने सुविधा पनि उपलब्ध रहेको क्यापिटलले जनाएको छ। इकाईधनीले प्राप्त गर्ने कर तथा निर्धारित डीपी शुल्क कट्टीपछिको लाभांश रकम बराबरको रकमबाट समायोजित मूल्यमा थप इकाई खरिद गरी ‘डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान’ मार्फत पुनः लगानी गर्न सक्नेछन्।
यस योजनामा पुनः लगानीका लागि आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाईधनीको हितग्राही खाता (डिम्याट खाता) मा थप इकाई पठाइनेछ। त्यस्तै, पुनः लगानी योजनामा सहभागी नभएका इकाईधनीको हकमा भने लाभांश रकम सम्बन्धित बैंक खातामा नगद रूपमा भुक्तानी गरिने क्यापिटलले जनाएको छ।
सञ्चालनमा आएपछि सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले दोस्रोपटक लाभांश घोषणा गरेको हो। यससँगै आर्थिक वर्ष २०८२÷८३ का लागि लाभांश घोषणा गर्ने पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना पनि यही बनेको छ।
