काठमाडौँः कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै, आगजनीबाट घर, पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत घोषणा गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णयसमेत गरेको हो। साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ।
बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ। त्यसका लागि पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।
यस्तै, स्थानीय प्रशासनसँग समन्वय गरेर समुदायस्तरमा मेलमिलाप र सद्भाव प्रवर्द्धन गर्न सद्भाव यात्रा, सार्वजनिक अपिल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ।
बैठकले सबै धार्मिक समुदायका संघसंस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्कता अपनाउन र घाइतेको उपचार तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले समाजमा विभाजन ल्याउने वा सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरे।
सर्वदलीय तथा सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा ९एमाले० का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।


