काठमाडौं। पछिल्ला वर्षहरुमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सौर्य ऊर्जामा लगानी बढ्दै गएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले ३७० मेगावाट बिजुली सौलार प्रविधिबाट थप्ने योजना ल्याएको छ।
चालू आर्थिक वर्षमा सरकारले जलविद्युतबाट ६७० मेगावाट र सोलारबाट ३७० मेगावाट गरि कूल एक हजार ४० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ।लागत सस्तो र कम समयमा पूर्वाधार निर्माण सम्पन्न हुने भएकाले सोलार ऊर्जामा निजी लगानी बढेको हो।
यस्तै श्री सोलार पावर लिमिटेडले ३० मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने गर्ने भएको छ। कम्पनीले न्यू नेपालगञ्ज सौर्य विद्युत आयोजनाबाट उक्त बिजुली उत्पादन गर्न विद्युत विकास विभागमा निवेदन दिएको छ।
विभागले पनि सोलार प्रविधिबाट ऊर्जा उत्पादन इजाजत (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ। परियोजना आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सोलार परियोजना लुम्बिनी प्रदेशको बाँकेको बैजनाथ गाउँपालिका, वडा नम्बर ७ र खजुरा गाउंपालिका, वडा नम्बर ४ मा हुने भएको छ।
आयोजनावाट वार्षिक सरदर पाँच करोड ९९ लाख २२ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययले देखाएको छ। सोलार परियोजना निर्माण ३०.४७ हेक्टर जग्गामा प्रस्ताव गरिएको छ।
आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट डीसी विद्युत निकाली २७५ किलोवाटका १०८ र ७५ किलोवाट क्षमताको ३ वटा स्ट्रीङ इन्भर्टरमार्फत ३० मेगावाट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको न्यू नेपालगञ्ज सबस्टेशनमा जोडिने भएको छ।
जलविद्युत आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले ऊर्जाको मागलाई सन्तु्लन कायम गर्न सौर्य ऊर्जामा लगानी गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको हो।
विभागमा हालसम्म दुई हजार १०४ मेगावाट क्षमताका कुल ९७ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्।
सरकारले ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको तथा सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुलीको पनि उचित मूल्य प्रदान गर्ने नीतिगत निर्णय गरेकाले यस क्षेत्रमा लगानीमा बढोत्तरी भएको हो।
विभागका अनुसार गैरआवासीय नेपालीको लगानी रहने एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १०० मेगावाट क्षमताको रोल्पा सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ। त्यस्तै, सोही कम्पनीले नै १५० मेगावाट क्षमताको अर्घाखाँची सौर्य विद्युत आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ।
सिजी इर्नगो प्रालिले २५ मेगावाट क्षमताको पाल्पा डम्बक सौर्य विद्युत आयोजना निर्माणका लागि सर्वेक्षणको अनुमति लिएको छ। विदेशी लगानीमा ठूला सौर्य ऊर्जा परियोजनाहरु पाइपलाइनमा रहेका छन्।


