काठमाडौँः नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला काठमाडौंमा आयोजना हुन लागेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नयाँ मोडल र प्रविधिको प्रदर्शनसँगै अटोमोबाइल बजारमा बढ्दो प्रतिस्पर्धाको मञ्च बन्ने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा नेपालमा बिक्री भइरहेका तथा नेपाली बजारमा प्रवेशको तयारीमा रहेका विभिन्न ब्राण्डका सवारीसाधन प्रदर्शन गरिनेछन् ।
यसपटक एक्स्पोको मुख्य आकर्षणमध्ये ४० भन्दा बढी नयाँ लन्च रहने नाइमाले जनाएको छ । नयाँ ब्राण्ड तथा मोडलको आगमनले नेपाली बजारमा सवारीसाधनको विकल्प थपिनुका साथै कम्पनीहरूबीच प्रविधि, रेन्ज, सुरक्षा सुविधा र मूल्यमा प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ ।
ईभीसँगै हाइब्रिडमा पनि जोड
पछिल्ला वर्षमा नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको उपस्थिति बढ्दै गए पनि यसपटकको एक्स्पोमा हाइब्रिड सवारीसाधनले पनि उल्लेख्य स्थान पाउने भएका छन् ।
एक्स्पोमा कम्प्याक्ट सहरी ईभीदेखि पारिवारिक एसयूभी, व्यावसायिक सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसम्म प्रदर्शन गरिनेछ । यसले उपभोक्तालाई एउटै स्थानबाट फरक–फरक प्रविधि, मोडल र ब्राण्डका सवारीसाधनको तुलना गर्ने अवसर दिनेछ ।
नेपालमा ईभीको माग बढेसँगै कम्पनीहरूले बढी रेन्ज, आधुनिक सुरक्षा प्रणाली, स्मार्ट फिचर र प्रतिस्पर्धी मूल्यलाई आफ्नो प्रमुख बिक्री रणनीति बनाउँदै आएका छन् । एक्स्पोमा सार्वजनिक हुने नयाँ मोडलहरूले पनि यही प्रतिस्पर्धालाई थप बल दिने अपेक्षा गरिएको छ ।
५५ ब्राण्डको सहभागिता
नाइमाका अनुसार एक्स्पोमा ५५ वटा ब्राण्डको सहभागिता रहनेछ । आयोजकले यसपटक करिब १ लाख ५० हजार अवलोकनकर्ता एक्स्पोमा आउने अपेक्षा गरेको छ ।
एक्स्पोमा सवारीसाधनको बिक्री तथा प्रदर्शनसँगै मोबिलिटी क्षेत्रसँग सम्बन्धित लर्निङ सेसन र पोलिसी डायलग समेत आयोजना गरिनेछ । यसले उपभोक्तामात्र नभई अटोमोबाइल व्यवसायी, नीति निर्माता तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई समेत एउटै मञ्चमा ल्याउने आयोजकको उद्देश्य छ ।
नेपालको सवारी बजार क्रमशः विद्युतीय तथा वैकल्पिक ऊर्जा प्रविधितर्फ केन्द्रित भइरहेका बेला नाइमा एक्स्पोले नयाँ प्रविधि, नयाँ ब्राण्ड र बदलिँदो उपभोक्ता रोजाइलाई एकै ठाउँमा देखाउने मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।


