काठमाडौँ: नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिल लिमिटेडको डण्डी व्यापारमा ठूलो पहिरो गएको छ। कुनै समय वार्षिक ५० अर्ब रुपैयाँको कारोबार गर्ने यो उद्योगको व्यापार पछिल्लो तीन वर्षमा करिब ५० प्रतिशतले घटेर २६ अर्बमा सीमित भएको छ। भारतको निर्यात नीति र आन्तरिक बजारको सुस्तताका कारण उद्योगको आम्दानीसँगै नाफामा समेत उच्च गिरावट आएको छ।
सन् २०२५ मा जगदम्बा स्टिलको कुल सञ्चालन आम्दानी १२ प्रतिशत घटेर २६ अर्ब ३६ करोड १० लाख रुपैयाँ डण्डी व्यापार गरेको छ। सन् २०२२ को तुलनामा उद्योगको डण्डी व्यापार झण्डै आधा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। २०२२ मा उद्योगले ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको डण्डी व्यापार गरेको थियो।
यो वर्षको नौ महिनामा उद्योगले १८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको छ। जगदम्बाले यो वर्ष पनि गत वर्षको हारहारीमा मात्र डण्डी व्यापार गर्ने देखिएको छ।
उद्योगले सन् २०२३ मा ३९ अर्ब ४३ करोड, २०२४ मा २९ अर्ब ७२ करोड रुपैयाँ व्यापार गरेको थियो। पछिल्लो पाँच वर्षको कारोबार हेर्दा डण्डी व्यापार ओरालो लागेको देखिएको छ। भारत सरकारले आयात शुल्क लागू गरेपछि निर्यात रोकिएका कारण व्यापार घटेको जगदम्बा स्टिलले जनाएको छ।
सञ्चालन आम्दानीमा आएको कमीले उद्योगको इबीटीडीए २० प्रतिशत घटेर एक अर्ब ८५ करोड ४० लाख रुपैयाँमा झरेको छ। मार्जिन आर्थिक वर्ष २०२४ को ७.८० प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२५ मा ७.०३ प्रतिशतमा सीमित भएको छ।
आर्थिक वर्ष २०२५ मा करपछिको नाफा २२ प्रतिशत घट्योे। मार्जिन आर्थिक वर्ष २०२४ को ०.४६ प्रतिशतबाट घटेर ०.२२ प्रतिशतमा झरेको थियो। साथै, कुल नगद सञ्चय आर्थिक वर्ष २०२४ को ४२ करोड ३० लाख रुपैयाँबाट घटेर आर्थिक वर्ष २०२५ मा ३८ करोड १० लाख रुपैयाँमा सीमित भयो।
केही बाह्य चुनौतीहरूको सामना गर्नु पनि जगदम्बा स्तिलले विगत केही वर्षहरूमा आफ्नो उत्पादन क्षमता र यसको उपयोगमा निरन्तर सुधार देखाएको छ। आर्थिक वर्ष २०२५ मा औसत क्षमता उपयोग ३१.६० प्रतिशतको मध्यम स्तरमा रहेको छ।
नयाँ सीआरएम प्लान्ट थपिएसँगै उद्योगको जडित क्षमता आर्थिक वर्ष २०२१ को २० लाख ३० हजार टनबाट बढेर आर्थिक वर्ष २०२२ मा २४ लाख ४४ हजार टन पुगेको थियो। मागमा भएको वृद्धिका कारण कोल्ड रोल्ड उत्पादनहरूको क्षमता उपयोगमा उल्लेख्य वृद्धि देखियो।
जगदम्बाले बजारको मागअनुसार विभिन्न प्रकारका टीएमटी बार, एंगल्स, सेक्सन, पाइप, सटर प्रोफाइल, कोइल्स, सिट्स र विभिन्न प्रकारका तारजन्य वस्तु उत्पादनहरू गर्दछ। जगदम्बाले मुलुकभर विभिन्न प्रतिष्ठित ब्रान्ड नामहरू अन्तर्गत आफ्ना उत्पादनहरू बजारमा ल्याएको छ।
जसमा जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा ग्याल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायर जस्ता बजारमा स्थापित ब्रान्डहरू समावेश छन्।
जगदम्बाले मुख्यतया भारत, चीन, अमेरिका र बेलायतबाट एचआर र सीआर कोइल, वायर रड, पिग आइरन र स्पन्ज आइरनजस्ता प्रमुख कच्चा पदार्थहरू आयात गर्दछ। यी सामग्रीहरूको मूल्य बजारमा आधारित हुन्छ र समय समयमा समायोजन गरिन्छ।
जसले गर्दा उद्योगको कच्चा पदार्थको लागतमा हुने उतार चढावको जोखिममा पर्छ। यसले कम्पनीको नाफाको मार्जिनलाई प्रत्यक्ष असर पार्छ। आर्थिक वर्ष २०२५ मा, कच्चा पदार्थको खर्च कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ६८ प्रतिशत थियो।
जगदम्बाले नेपाल र भारत दुवै देशका नीतिहरूका कारण आंशिक नियामक जोखिमको सामना गरिरहेको छ। २२ मे २०२२ मा भारतले एचआर सिटको निर्यातमा १५ प्रतिशत कर लगाएको थियो।
जुन १९ नोभेम्बर २०२२ मा घटाएर शून्य कायम गरियो। त्यसैगरी, नेपालले आर्थिक वर्ष २०२३ को बजेटमार्फत फलामको रड आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशत र अतिरिक्त अन्तःशुल्क प्रतिकेजी ३.५० रुपैयाँ पुर्याएको थियो। पछि यसलाई संशोधन गरी भन्सार महसुल ५ प्रतिशत र अतिरिक्त अन्तःशुल्क प्रति केजी २.५ रुपैयाँ कायम गरियो।
प्रिमियममा आईपीओ ल्याउने तयारी
जगदम्बा स्टिलले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। जगदम्बाले प्रतिकित्ता २३० रुपैयाँ प्रिमियम थपेर ३३० रुपैयामा आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव गरेको छ।
उद्योगले २०८० असोजमा नै आईपीओ ल्याउन बोर्डमा प्रस्ताव गरेको थियो। बोर्डले हालसम्म इजाजत दिएको छैन्। जगदम्बाले कूल पुँजीको ३० प्रतिशत अर्थात दुई करोड सात लाख कित्ता प्रिमियममा आईपीओ जारी गरेर छ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। प्रिमियममा आईपीओ विवादित बनेपछि सेबोनले इजाजत दिएको छैन्।
जगदम्बा स्टिल्सको स्थापना १९९३ मा भएको हो। आईपीओ जारी गर्न २०२२ मा लिमिटेडमा परिणत भएको छ। कारखाना बाराको सिमरामा छ। उत्पादन सुविधाहरूलाई कोल्ड रोल्ड, रोलिङ मिल, तार र मेल्टिङ प्लान्ट गरी विभिन्न वर्गमा विभाजन गरिएको छ। शंकर ग्रुप सिमेन्ट, डण्डी, होटल र बीमा लगायत क्षेत्रमा बलियो उपस्थिति छ।
