काठमाडौँ: छिमेकी मुलुक भारत अर्थतन्त्रको आकारका आधारमा पुनः छैटौँ स्थानमा झरेको छ। भारत ३९ खर्ब २० अर्ब (३.९२ ट्रिलियन अमेरिकी डलर) सहित विश्वको छैटौँ वरीयतामा झरेको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको छ।
आईएमएफको प्रतिवेदनले भारतलाई विश्वको छैटौँ ठूलो अर्थतन्त्र बनाएको सरकारले भारतीय संसदलाई जानकारी दिएको छ।
‘आईएमएफको वरीयता अमेरिकी डलरको प्रचलित विनिमय दरमा मापन गरिएको जीडीपीमा आधारित हुन्छ। तसर्थ, आर्थिक वृद्धि, विनिमय दर र मूल्यमा हुने उतार चढाव, राष्ट्रिय लेखामा गरिने संशोधन तथा अन्य प्रमुख अर्थतन्त्रहरूको आकार र वृद्धिमा आउने परिवर्तनजस्ता विभिन्न कारकहरूका कारण अर्थतन्त्रहरूको सापेक्षिक वरीयतामा परिवर्तन आउन सक्छ,’ राज्य सभामा दिइएको लिखित जवाफमा अर्थ राज्यमन्त्री पंकज चौधरीले भनेका छन्।
सरकारले भारतीय अर्थतन्त्रको वृद्धिको सम्भावनालाई बढावा दिन बृहत रणनीतिको अवलम्बन गरेको उनले बताएका छन्। कृषि उत्पादकत्व बढाउन,उत्पादनमा आधारित प्रोत्साहन योजना जस्ता पहलहरू र गुणस्तर नियन्त्रणसम्बन्धी आदेशहरूमा सहजीकरणमार्फत उत्पादन क्षेत्रलाई प्रवद्र्धन गर्न तथा साना तथा मझौला उद्यमहरूलाई सुदृढ बनाउन केन्द्रित छ।
तेल संकटले भारतको उच्च आर्थिक वृद्धिलाई धक्का, अर्थतन्त्र संकुचनको बाटोमा!
विश्वस्तरीय पूर्वाधारको विस्तार, पीएम गति शक्ति र राष्ट्रिय लजिस्टिक नीतिमार्फत लजिस्टिक व्यवस्थामा सुधार तथा नवीनता, डिजिटलाइजेसन र अनुसन्धानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको उनले बताए।
सरकारले निरन्तर सार्वजनिक पुँजीगत खर्च, उदारीकृत प्रत्यक्ष वैदेशिक लगानी नीति, प्रत्यक्ष कर तथा जीएसटी सुधारमार्फत प्रभावकारी र सरल कर प्रणाली, र व्यवसाय सञ्चालनको सहजतामा निरन्तर सुधारजस्ता उपायहरूद्वारा लगानीलाई प्रवद्र्धन गरिरहेको राज्यमन्त्रीले जानकारी दिएका छन्।
४१ खर्ब ८० अर्ब डलरसहित भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, तीन वर्षमा जर्मनीलाई उछिन्ने
यसअघि, आईएमएफले भारतले अर्को वर्ष जापानलाई जित्ने अनुमान गरेको थियो। सरकारी आर्थिक ब्रिफिङ नोटअनुसार ४१ खर्ब ८० अर्ब डलरको जीडीपीसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गर्ने जनाएको थियो।
यस्तै आगामी साढे दुई–तीन वर्षमा जर्मनीलाई चौथो स्थानमा सार्ने सम्भावना रहेको आईएमएफले उल्लेख गरेको थियो। आईएमएफका अनुसार सन् २०२२ मा बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो। सो वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्वपूर्ण प्रगति हासिल गरेको थियो। तर, आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार भारत बेलायत भन्दा पछि पुगेको छ।
भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको थियो। सन् २०२६ मा आईएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको थियो। तर, भारतको अर्थतन्त्रको आकार ४० खर्ब डलर भन्दा तल रहेको छ।
यस्तो छ अर्थशास्त्रीहरूको भनाइ
अर्थशास्त्रीहरूका अनुसार यसको जवाफ केवल आर्थिक वृद्धिमा मात्र नभई उक्त वृद्धि डलरको हिसाबमा कसरी देखिन्छ भन्ने कुरामा निहित छ।
जियोजित इन्भेस्टमेन्ट्स लिमिटेडका प्रमुख लगानी रणनीतिकार डा. भीके विजयकुमारले भने ‘डलरमा मापन गरिएको जीडीपीमा भारत छैटौँ स्थानमा झर्नुको मुख्य कारण डलरसँग भारुको अवमूल्यन नै हो।’ उनले गत वर्ष मुद्राको मूल्यमा देखिएको तीव्र अन्तरतर्फ पनि औंल्याए।
इन्फोमेरिक्स रेटिङ्सका प्रमुख अर्थशास्त्री मनोरञ्जन शर्माले यस परिवर्तनलाई कुनै संरचनात्मक कमजोरीभन्दा पनि विभिन्न कारकहरूको संयोजनका रूपमा व्याख्या गरेका छन्।
‘भारतको यो पछाडि पर्ने क्रमको मुख्य कारण अर्थतन्त्रको आधारभूत पक्षहरू कमजोर हुनु होइन, बरु मुद्राको मूल्यमा आएको परिवर्तन, तथ्यांक संशोधन र बाह्य दबाबको संयुक्त असर हो’ शर्माले भने ‘यसको मूल कारण मुद्रासम्बन्धी प्रभाव नै हो।’
६ देखि ६.५ प्रतिशतको बलियो वास्तविक आर्थिक वृद्धि भए पनि रुपैयाँको अवमूल्यनले डलरको हिसाबमा जीडीपी घटाउँछ। जसले गर्दा बलियो मुद्रा भएका देशहरू भारतभन्दा अघि बढ्न सहयोग पुगेको उनको तर्क छ।
यस्तै बाह्य झट्काहरूले यो प्रवृत्तिलाई अझ बढावा दिएका छन्। बाह्य झट्काहरू, विशेष गरी पश्चिम एसियाको द्वन्द्वले कच्चा तेलको मूल्य बढाएर चालू खाता घाटा फराकिलो पारेर र मुद्रास्फीतिलाई उकासेर यो प्रवृत्तिलाई तीव्र बनाएका छन्। यसले भारुमाथि थप दबाब सिर्जना गरेको शर्माले बताए।
कच्चा तेल आयात गर्ने अर्थतन्त्रका लागि मूल्य वृद्धिले डलरको माग बढाउँछ। जसले मुद्रालाई कमजोर बनाउँछ र फलस्वरूप डलरमा मापन गरिने जीडीपीको मूल्य घटाउँछ।
उनले भने, ‘आर्थिक वर्ष २०२५ मा डलरको तुलनामा भारुको मूल्य ११ प्रतिशत घट्यो। यसको विपरीत, जापानी येनको मूल्य १० प्रतिशत र पाउन्ड स्टर्लिङको मूल्य २ प्रतिशत बढ्यो। मुद्राको मूल्यमा आएका यिनै परिवर्तनहरूले जापान र बेलायतलाई भारतभन्दा अगाडी पुर्याएको शर्माको तर्क छ।
विश्वव्यापी जीडीपीको वरीयता अमेरिकी डलरमा गणना गरिने हुनाले आन्तरिक उत्पादनमा निरन्तर वृद्धि भइरहेको अवस्थामा पनि विनिमय दरमा आउने उतारचढावले देशहरूको स्थान परिवर्तन गर्न सक्छ।
दुवै अर्थशास्त्रीहरूले वरीयतामा आएको परिवर्तनले आर्थिक गति सुस्त भएको नजनाउने कुरामा जोड दिन्छन्।
‘आईएमएफको अनुमान अनुसार, पछिल्ला चार वर्षमा भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको ठूलो अर्थतन्त्र बनेको छ। आगामी दुई वर्षका लागि गरिएका प्रक्षेपणहरूले पनि भारतलाई अन्य ठूला अर्थतन्त्रहरूभन्दा निकै अगाडि देखाउँछन्’ विजयकुमारले भने ‘भारतको वरीयतामा देखिएको गिरावट मुख्यतया तथ्यांकीय हो, वास्तविक होइन।’
तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा भारतको यात्रा यथावत रहेको र आगामी सन् २०२८–२०३० को आसपास पुग्न सक्ने शर्माको अनुमान छ।
