काठमाडौँः हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुदनाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र थियो। यस आधारमा बैंकको खुद नाफा एक वर्षमै ११ गुणाभन्दा बढीले बढेको देखिन्छ।
नाफामा भएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष ६० पैसा रहेको ईपीएस बढेर ६ रुपैयाँ ५६ पैसा पुगेको छ।
बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेको थियो। गत आर्थिक वर्षमा यस्तो प्रोभिजन घटेर २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। चौथो त्रैमासमा मात्रै बैंकले २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ।
यद्यपि, बैंकको निष्क्रिय कर्जा अझै उच्च छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा सामान्य घटेर ७.९६ प्रतिशतमा आएको छ। खराब कर्जाको अनुपातमा उल्लेख्य सुधार नभए पनि प्रोभिजनमा आएको कमीले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।
त्यस्तै, खुद नाफामा उल्लेख्य सुधार भए पनि बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँमा आएको छ। बैंकको कुल पुँजीकोष अनुपात भने १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगेको छ। प्राथमिक पुँजीकोष अनुपात भने ७.६९ प्रतिशतमा रहेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा कायम भएको छ। गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन बढाउँदै कुल निक्षेप ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ।
त्यस्तै, बैंकको कर्जा प्रवाह पनि सामान्य बढेर २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
बैंकको रिटेन्ड लस ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो।
वितरणयोग्य नाफातर्फ पनि बैंक अझै ऋणात्मक अवस्थामा रहेको छ। विगतको सञ्चित नोक्सानी ठूलो रहेकाले चालु वर्षको नाफा बढे पनि तत्काल लाभांश वितरण गर्न सक्ने अवस्था बनेको देखिँदैन।


