काठमाडौँ: नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो को १८औं संस्करणलाई संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्य बनाइने भएको छ।
नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स् रहेको छ। ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ।
यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।
उक्त नाडा अटो शोमा करिब २ लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा नाडाको छ।


