काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आइतबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो।
बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सहयोग गरेको जनाएको छ।
बाढीमा परी ज्यान गुमाउनेप्रति सिद्धार्थ बैंक परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।