काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
‘एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड’ मूल नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
सञ्चालक अग्रवालले आर्थिक वर्ष २०८२/८३ मा नेपाल लाइफले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिँदै उक्त उपलब्धि अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकको विश्वास र मेहनतको प्रतिफल भएको बताए।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहकमैत्री डिजिटल सेवा, तथ्यमा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव सुधार गर्ने योजना रहेको बताए।
कम्पनीका अनुसार नेपाल लाइफको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको तथा कुल ३६२ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको जनाएको छ। मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत रहेको कम्पनीको भनाइ छ।
त्यस्तै, कम्पनीले नेपाल सरकारलाई हालसम्म १७.७१ अर्ब रुपैयाँ कर तिरेको जनाएको छ।