काठमाडौँ: भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन्।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा सरकारलाई सहयोग गर्ने उद्देश्यले बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक सहायता प्रदान गरेका हुन्। तर, विडम्बना के छ भने बाढीपीडितलाई सहयोग गर्ने यी बैंकहरू आफैँ पनि सोही विपद्को ठूलो मारमा परेका छन्।
बाढीपीडितको सहयोगका लागि सबैभन्दा ठूलो रकम घोषणा गर्ने ग्लोबल आइएमई बैंकले कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ। बैंकले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
नबिल बैंक (चौधरी फाउन्डेसन सहित)ले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित करिब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
माछापुच्छ्रे बैंकले कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
यसैगरी, हिमालयन बैंकले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल बैंकले पनि सीएसआरअन्तर्गत प्रधानमन्त्री कोषमा ३ करोड १ लाख रुपैयाँ प्रदान गरेको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कृषि विकास बैंकले हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ भने कुमारी बैंकले पनि बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ उपलब्ध गराएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले विपद्को कठिन परिस्थितिमा सरकारको राहत अभियानलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन्।
सानिमा बैंकले बाढी र पहिरो प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि २ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, एनआईसी एसिया बैंकले संस्थागत तर्फबाट २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित रकमसहित कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
साथै, सिद्धार्थ बैंक लिमिटेडले भोटेकोसी विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपियाँ आर्थिक सहयोग तथा ७ लाख रुपैयाँ बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ।
यसैगरी एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। साथै, एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। यसअन्तर्गत बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ भने बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त कोषमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका बैंकिङ पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका १६ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बगाएका छन्। प्रारम्भिक विवरणअनुसार बैंकका भवन, उपकरण, काउन्टर, फर्निचर तथा अन्य भौतिक सम्पत्तिमा करिब ५५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
बाढीबाट बैंकहरूको भौतिक संरचनामात्र प्रभावित भएको छैन, ती शाखाबाट प्रवाह भएको कर्जा पनि जोखिममा परेको छ। प्रभावित शाखाहरूबाट हजारौँ ग्राहकलाई प्रवाह गरिएको करिब २ अर्ब ४३ करोड रुपैयाँ बराबरको कर्जा प्रभावित भएको बैंकर संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले जानकारी दिए।
नबिल बैंकको टिमुरे शाखाबाट कर्जा प्रवाह नभएको सीईओ मनोज ज्ञवाली बताउछन्। नेपाल क्लिक्ससँग कुरा गर्दै उनले भने, ‘टिमुरे शाखामा हाम्रो कुनै पनि ऋण थिएन।’
बाढीले धेरै ऋणीको घर, व्यवसाय तथा धितोका रूपमा राखिएका सम्पत्तिमा क्षति पुर्याएपछि कर्जा असुलीमा समेत चुनौती थपिएको बैंकर बताउछन्।
प्रभावित बैंक शाखाहरूमा ठूलो परिमाणमा ग्राहकको निक्षेपसमेत रहेको थियो। करिब ७८ हजारभन्दा बढी निक्षेपकर्ताको ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम ती शाखासँग सम्बन्धित रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। बैंकहरूले भने ग्राहकको निक्षेप सुरक्षित रहेको बताएका छन्।
कृषि विकास बैंकको त्रिशूली ढुङ्गे शाखामा सबैभन्दा ठूलो क्षति पुगेको बताइएको छ। शाखाको आफ्नै भवन बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ठूलो आर्थिक नोक्सानी भएको छ। नेपाल प्रहरीले लामो प्रयासपछि शाखाको भल्टबाट नगद तथा बहुमूल्य सामग्री सुरक्षित रूपमा बाहिर निकालेको थियो।
एनआईसी एसिया बैंकको रसुवास्थित स्याफ्रुबेशी र नुवाकोटको बेत्रावती शाखा रहेका भवन बाढीबाट प्रभावित भएका छन् भने त्रिशूली शाखामा समेत गम्भीर क्षति पुगेको बताइएको छ। नबिल, प्रभु, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, कुमारी, सानिमा र एनएमबि बैंकका विभिन्न शाखासमेत बाढी पस्दा प्रभावित भएका छन्।
बाढीका कारण सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका केही बैंक कर्मचारीसँग सम्पर्क हुन नसकेको विवरण पनि सार्वजनिक भएको थियो। प्रभावित कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको सम्बन्धित निकायहरूले बताएका छन्।
विपद्को यस्तो कठिन घडीमा बैंक तथा वित्तीय संस्थाहरू एकातिर आफ्नै शाखा, सम्पत्ति र कर्जा जोखिमको सामना गरिरहेका छन् भने अर्कोतिर बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि करोडौँ रुपैयाँ सहयोग गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिरहेका छन्।
हाल बाढीले बगाएका बैंकको सेफहरु नदीमा भेटिन थालेका छन्। यस्तै कृषि विकास बैंकको ठूलो नगद रकम फेला परेको छ।