काठमाडौँः बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बिक्री नभएको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासन गरेपछि बाँकी सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा भदौ २५ गतेसम्म खुला रहनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट संकलित रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ।
कम्पनीको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।
नेप्सेमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको मूल्य दायरामा निर्धारण हुनेछ।