काठमाडौँः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई क्रमशः ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ रूपान्तरण गर्नुपर्ने बताएका हुन्।
उनले निजी क्षेत्रलाई उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्ने बताए।
अग्रवालले विगतमा दूरदर्शी नीतिको अभावका कारण नेपालको सेयर बजारमा सट्टेबाजी प्रवृत्तिले प्रश्रय पाएको बताए। विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको डबल आईएसआईएन व्यवस्थाले एउटै सेयरको मूल्यमा ठूलो अन्तर सिर्जना गरेको उनको भनाइ छ।
‘एउटै सेयर, प्रतिफल एउटै तर डबल प्राइसिङ हुँदा दुवैको मूल्यमा ५० प्रतिशतसम्म फरक देखियो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै वास्तविक बजार मूल्य निर्धारणमा अन्योल बढायो,’ उनले भने।
डबल आईएसआईएन हटाउने प्रयास विगतमा नेपाल राष्ट्र बैंकबाट भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामा पर्ने देखिएपछि कार्यान्वयन हुन नसकेको उनले बताए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पुँजी बजारलाई ‘जुवाघर जस्तो बनाउनु हुँदैन’ भनेको प्रसंग उल्लेख गर्दै अग्रवालले एउटै सेयरलाई नीतिगत हस्तक्षेपका कारण वास्तविक प्रतिफलमा आधारित मूल्य र सट्टेबाजी मूल्यमा विभाजन गर्न नहुने बताए।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै आईएसआईएन नम्बरको व्यवस्था लागू गर्ने तयारी गरेकोप्रति उनले स्वागत गरे। यसबाट आगामी दिनमा स्वस्थ, पारदर्शी र वास्तविक मूल्यमा आधारित पुँजी बजार निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
कम्पनीको व्यवस्थापन क्षमता, दीर्घकालीन योजना तथा भविष्यमा प्राप्त हुन सक्ने प्रतिफलका आधारमा सेयरको मूल्य निर्धारण हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।