काठमाडौँः नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औं बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार बैंकले साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। बैंकको हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँका आधारमा ५ प्रतिशत बोनस सेयरको मूल्य करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबर हुनेछ।
त्यस्तै, १०.८० प्रतिशत नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। यसका लागि बैंकले करसहित करिब २ अर्ब ९२ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ।
अग्राधिकार सेयरधनीलाई पनि लाभांश
नबिल बैंकले साधारण शेयरधनीसँगै अग्राधिकार शेयरधनीका लागि समेत लाभांश प्रस्ताव गरेको छ। बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर पुँजीमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअन्तर्गत करसहित करिब २३ करोड ३४ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ।
बैंकले आफ्नो सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नियामक र साधारणसभाबाट स्वीकृति आवश्यक
सञ्चालक समितिबाट प्रस्तावित लाभांश तत्काल वितरण हुने भने होइन। प्रस्तावित लाभांशका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन आवश्यक हुनेछ।
आवश्यक स्वीकृति प्राप्त भई साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र योग्य शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
बैंकको प्रस्तावअनुसार बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजीमा समेत वृद्धि हुनेछ।