काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो।
बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित सम्पूर्ण नागरिकलाई राहत पुर्याउने उद्देश्यले कोषमा सहयोग गरिएको जनाएको छ।
भोटेकोशी बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको छ।