काठमाडौँः सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कर्मचारी खर्च एक वर्षमै २ अर्ब ६५ करोड रुपैयाँ बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीको तलब, भत्ता, बोनस तथा अन्य सुविधामा कुल ६२ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेका छन्।
यो खर्च अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४.४१ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको कर्मचारी खर्च ६० अर्ब ३ करोड रुपैयाँ रहेको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च ५५ अर्ब ८९ करोड रुपैयाँ थियो।
यसरी पछिल्लो दुई वर्षमा मात्रै वाणिज्य बैंकहरूको कर्मचारी खर्च करिब ६ अर्ब ७९ करोड रुपैयाँ बढेको देखिन्छ।
बैंकहरूको कर्मचारी खर्च बढ्नुमा तलब वृद्धि, ग्रेड वृद्धि, विभिन्न भत्ता, बोनस तथा कर्मचारीलाई दिइने अन्य सुविधालाई मुख्य कारण मानिएको छ। विशेषगरी आर्थिक वर्षको अन्त्यमा बोनस तथा अन्य सुविधा भुक्तानी हुने भएकाले असार महिनामा कर्मचारी खर्च थप बढ्ने गरेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।
सिटिजन्स बैंकका प्रमुख सुचना अधिकारी नारायणराज अधिकारीका अनुसार बैंकिङ क्षेत्रमा कर्मचारीको तलब तथा सुविधा वर्षेनी बढ्ने भएकाले कर्मचारी खर्च पनि स्वाभाविक रूपमा बढ्दै जान्छ।
‘आर्थिक वर्षको अन्त्यमा तलब वृद्धि, ग्रेड वृद्धि, भत्ता र बोनस लगायतका कारण कर्मचारी खर्च बढेको देखिन्छ। ग्रेडले मात्रै पनि करिब चार प्रतिशतसम्म वृद्धि देखाउँछ। अहिले धेरै बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेपछि सामान्य रूपमा कर्मचारी खर्च पनि बढ्ने नै भयो,’ उनले भने।
राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च सबैभन्दा बढी
२० वाणिज्य बैंकमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब तथा सुविधामा ५ अर्ब १४ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।
त्यसपछि लक्ष्मी सनराइज बैंकले ४ अर्ब ९० करोड १६ लाख, कृषि विकास बैंकले ४ अर्ब २९ करोड ४२ लाख, नेपाल बैंकले ४ अर्ब १२ करोड २२ लाख र ग्लोबल आइएमई बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।
त्यस्तै, नबिल बैंकले ४ अर्ब ३ करोड ६४ लाख र प्रभु बैंकले ३ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ खर्च गरेका छन्।
कुमारी बैंकको कर्मचारी खर्च ३ अर्ब ७३ करोड २५ लाख, हिमालयन बैंकको ३ अर्ब ४० करोड ७१ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ४० करोड ६४ लाख रुपैयाँ रहेको छ।
त्यसैगरी एनआईसी एसिया बैंकले ३ अर्ब ३१ करोड २ लाख, सिद्धार्थ बैंकले २ अर्ब ९६ करोड ५७ लाख, एनएमबी बैंकले २ अर्ब ४५ करोड ४६ लाख र माछापुच्छ्रे बैंकले २ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।
सिटिजन्स बैंकले २ अर्ब १० करोड ५२ लाख, एभरेस्ट बैंकले २ अर्ब १४ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ८१ करोड ४६ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ७६ करोड १९ लाख र सानिमा बैंकले १ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ खर्च गरेका छन्।
सबैभन्दा कम कर्मचारी खर्च गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले कर्मचारीका लागि १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ।
प्रविधिको प्रयोग बढे पनि कर्मचारी खर्च घटेन
बैंकिङ क्षेत्रमा डिजिटल सेवा र प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल भुक्तानीका कारण बैंकका धेरै सेवा प्रविधिमैत्री बन्दै गएका छन्। तर दक्ष जनशक्तिको आवश्यकता भने कायमै छ।
प्रतिस्पर्धी बैंकिङ बजारमा दक्ष कर्मचारीलाई टिकाइराख्न तलब तथा सुविधा बढाउनुपर्ने भएकाले प्रविधिको प्रयोग बढे पनि कर्मचारी खर्चमा ठूलो कमी आउन सकेको छैन।
अधिकारीका अनुसार बैंकमा कर्मचारीको संख्या घटे पनि कर्मचारी खर्च वर्षेनी बढ्नु स्वाभाविक हो। ‘हेडकाउन्ट घटेको छ। तर, वर्षेनी तुलना गर्दा खर्च बढ्छ नै, किनकि कसैले पनि आफ्नो तलब कहिल्यै घटाउँदैन।’
बैंकहरूको सञ्चालन लागतमा कर्मचारी खर्च महत्वपूर्ण हिस्सा हो। पछिल्ला वर्षमा कर्मचारी खर्च निरन्तर बढ्दै जानुले बैंकिङ क्षेत्रको सञ्चालन लागतमा जनशक्तिको भूमिका अझै महत्वपूर्ण रहेको देखाएको छ।