काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न बजारबाट ५५ अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले दुई महिनाको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट बोलकबोलमार्फत प्रस्ताव आह्वान गरेको छ। प्रस्ताव बुधबार दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत पेश गर्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार संकलन गरिने रकमको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ।
यसअघि पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट ठूलो मात्रामा तरलता खिच्दै आएको छ। हालसम्म यस माध्यमबाट संकलन गरिएको करिब ६ खर्ब रुपैयाँभन्दा बढी रकम अझै परिपक्व हुन बाँकी रहेको छ।