काठमाडौँः लगातार दुई दिन घटेको सेयर बजार शुक्रबार २७.९४ अंकले बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि सोमबारसम्म कार्ययोजना सार्वजनिक गर्ने आश्वासन दिएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सेयर बजार सुधारका लागि आवश्यक कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने बताएका थिए ।
त्यसपछि कारोबारमा आएको सकारात्मक प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१० प्रतिशतले बढेर २ हजार ५५९ अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
बजारका सबै समूहगत सूचकमा पनि वृद्धि भएको छ । अर्थमन्त्रीको बजार सुधारसम्बन्धी घोषणाले लगानीकर्ताको मनोबल बढाएपछि समग्र बजार सकारात्मक बनेको देखिएको छ ।