काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण सेयरधनीका लागि ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार ३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको रकम छुट्याउने प्रस्ताव गरिएको छ। सोही बराबरको रकम अर्थात् ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव छ।
यससँगै बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसका लागि करसहित ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको बैंकले जनाएको छ।
अग्राधिकार सेयरको लाभांश भने सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिनेछ।
तर, प्रस्तावित लाभांश तत्काल वितरण हुने छैन। नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लाभांश वितरण हुनेछ।


