काठमाडौँः नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको छैटौं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि बुक बिल्डिङ विधिबाट निष्कासन गर्ने निर्णयसमेत साधारण सभाले गरेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसी व्यवसायबाट भएको आम्दानी बाहेक अस्पतालले २ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा कम्पनीले ४७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।
नर्भिकको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा अस्पतालले ओपीडी सेवामार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो।
त्यस्तै, अस्पतालले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनियाका लागि आवश्यक इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा ४१ हजार सेवाग्राहीलाई उपलब्ध गराएको जनाएको छ।
नर्भिकले चुक्ता पुँजी वृद्धि गरी बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशतबराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणमा निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभाबाट अनुमोदन भएको छ। यससँगै लामो समयदेखि चर्चामा रहेको नर्भिकको आईपीओ निष्कासन योजनाले औपचारिक रूपमा सेयरधनीको अनुमोदन पाएको छ। अब कम्पनीले धितोपत्रसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दै योग्य संस्थागत लगानीकर्ताबाट मूल्यको आशय प्राप्त गर्नुपर्नेछ। त्यसपछि निर्धारण हुने कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढ्नेछ।