काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार मुकारुङको ‘सलह’ उपन्यासलाई पुरस्कार दिने निर्णय गरेको हो।
पुरस्कारका लागि प्राप्त १२२ पुस्तकमध्ये विस्तारित सूचीमा १५ र संक्षिप्त सूचीमा ५ कृति छनोट गरिएको थियो। मूल्यांकन समितिले ती कृतिमध्ये मुकारुङको ‘सलह’लाई चयन गरेको प्रतिष्ठानले जनाएको छ।
‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यात्मक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई उपन्यासका प्रमुख विशेषताका रूपमा उल्लेख गरिएको छ।
त्यस्तै, पद्मश्री साधना सम्मान–२०८२ नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई प्रदान गर्ने निर्णय भएको छ। शरणार्थी, राधा, आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई प्रस्तुत गर्दै आएका छन्।
यसैगरी, पद्मश्री गौरव पुरस्कार–२०८२ प्राडा जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्।
उनका ‘युद्धमा बनाला जीवनी’, ‘विचार’, ‘मानुभक्त आचार्यको समयमा नेपाली र अंग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीति’ लगायतका कृति प्रकाशित छन्। संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधिका रूपमा समेत काम गरेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भमा जोड्न योगदान दिएको प्रतिष्ठानले जनाएको छ।
तीनवटै पुरस्कार एवं सम्मानको राशि जनही ३ लाख रुपैयाँ रहेको छ।