काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउन लागेको हो।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा साविककै आकार तथा रंग कायम गरिएको छ। नोटको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानी प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ।
नोटको अग्र भागको दायाँतर्फ सगरमाथाको चित्र तथा त्यहाँ लालीगुराँसको पानी छाप रहनेछ। सोही भागमा ‘५०’ अंकित पानी छापसमेत राखिएको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘विसं. २०८२’ लेखिएको छ।
नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको १.२ मिमि चौडा भएको कागजमा बनाइएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।