काठमाडौँः बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर, कम्पनीहरूको आकर्षक लाभांश र सुधारका लागि भइरहेका विभिन्न पहलका बाबजुद सेयर बजारले अपेक्षित गति लिन सकेको छैन। वित्तीय आधारहरू अनुकूल देखिए पनि बजारमा लगानीकर्ताको मनोबल कमजोर हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लामो समयदेखि दबाबमा देखिएको छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यस दिन कारोबार रकममा पनि सामान्य कमी आएको छ। सोमबार ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँबराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको छ।
बजारका जानकारहरुका अनुसार अहिले सेयर बजारमा देखिएको सुस्तताको कारण वित्तीय सूचकभन्दा लगानीकर्ताको मनोविज्ञानसँग बढी जोडिएको छ।
ब्रोकर नम्बर ३५ कोहिनुर स्टकका सञ्चालक भरत रानाभाटका अनुसार अहिले बजारमा लगानीकर्ताको उत्साह नै घटेको छ। उनका अनुसार बजारमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि लगानीकर्ताले जोखिम लिन नचाहनु मुख्य समस्या बनेको छ।
‘अहिले लगानीकर्ताहरूमा खासै उत्साह वा बजारको गफ नै हुन छाडेको छ। बजार नबढ्नुमा वित्तीय कमजोरी होइन, आत्मविश्वासको अभाव हो। राज्यको धरपकडका कारण लगानीकर्तामा कतै न कतै एउटा थ्रेट (त्रास) पैदा भएको जस्तो लाग्छ। नत्र बजार घट्नुपर्ने कुनै वित्तीय कारण नै देखिँदैन,’ उनले भने ।
सामान्यतया ब्याजदर घट्दा र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिन्छ। अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर तुलनात्मक रूपमा न्यून छ भने प्रणालीमा पर्याप्त तरलता छ। तर, त्यसको प्रभाव सेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन।
रानाभाटका अनुसार सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था पनि समग्रमा सन्तोषजनक छ। कतिपय बैंक तथा विकास बैंकले आकर्षक लाभांश घोषणा गरिरहेका छन्। यसले दीर्घकालीन लगानीकर्ताका लागि अवसर सिर्जना गरे पनि बजारमा त्यसअनुसारको उत्साह आउन नसकेको उनको भनाइ छ।
नेपाल क्लिक्ससँगको कुराकानीमा उनले भने,‘डेभलपमेन्ट बैंकहरूले गत वर्षभन्दा निकै राम्रो प्रतिफल दिइरहेका छन्। कमर्सियल बैंकतर्फ सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिनु धेरै वर्षपछिको उपलब्धि हो। बाढीपहिरो प्रभावित एकाध कम्पनीबाहेक समग्र कम्पनीहरूको अवस्था सन्तोषजनक छ। अनलाइनबाटै सहजै कारोबार गर्न मिल्ने प्रणाली छ र सरकारले पनि करलगायतका विषयमा सकारात्मक निर्णय लिएको छ।’
ठूलो पुँजी पनि बजारमा आउन सकेन
उनका अनुसार अहिले नयाँ पुँजी परिचालन हुन नसक्नु पनि बजार सुस्त हुनुको एउटा कारण हो। ठूला व्यवसायी तथा लगानीकर्तामा जोखिम लिन हिच्किचाउने अवस्था देखिएको रानाभाटले बताए। सम्पत्ति विवरण, सम्पत्ति शुद्धीकरण तथा विभिन्न नियामकीय अनुसन्धानसँग जोडिएका विषयलेसमेत कतिपय लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनको भनाई छ।
‘मान्छेसँग भएको पैसा मात्र होइन, बैंकसँग भएको यति सस्तो कर्जा समेत लिएर लगानी गर्न डराइरहेका छन् भने समस्या विश्वासमा छ। सरकार र नियमनकारी निकायले व्यवसायी तथा लगानीकर्तामा परेको डर हटाएर आत्मविश्वास बढाउन सक्नुपर्छ,’ उनले भने।
सुधारका पहल धेरै, प्रभाव सीमित
सरकारले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको करिब दुई साता भएको छ। कार्ययोजनापछि बजारमा सुधार आउने अपेक्षा गरिएको थियो। केही दिन बजारमा सकारात्मक गतिविधि देखिए पनि पछिल्ला कारोबारमा भने त्यसले निरन्तरता पाउन सकेको छैन।
पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पुँजी बजार सुधारसँग सम्बन्धित विभिन्न नीति, योजना तथा निर्देशन सार्वजनिक भएका छन्। बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्न पाउने अवधि, कर तथा कारोबारसम्बन्धी विभिन्न विषयमा पनि नीतिगत परिवर्तन भएका छन्।
तर, सुधारका पहलहरू भए पनि त्यसको प्रभाव बजारमा अपेक्षित रूपमा देखिन नसकेको अवस्था छ।
सेयर बजार विश्लेषक देव गुरागाईंका अनुसार बजार घट्नुको कारणका रूपमा विगतमा प्रस्तुत गरिएका केही तर्क अहिलेको बजार व्यवहारसँग मेल खाँदैनन्। उनले भने, ‘लाभकर सस्तो हुँदा लगानीकर्तालाई घाटा हुँदैन, बरु खर्च कम हुन्छ। त्यसले लगानीकर्तालाई फाइदै गर्छ। बरु सरकारलाई घाटा हो। त्यसैले लाभकर बढाएको कारण सेयर बजार घट्यो भन्ने तर्क गलत थियो। बैंकले सेयर होल्ड गर्ने अवधि धेरै भयो भन्ने तर्कमा होल्डिङ अवधि ४५ दिनमा झार्ने राष्ट्र बैंकको सर्कुलरपछि खुलेको बजारले त्यसमा दम नरहेको प्रमाणित गर्यो।’
अब बजारको मुख्य चुनौती आत्मविश्वास
पुँजी बजारमा सुधारका लागि नीतिगत प्रयास भइरहे पनि लगानीकर्ताको सहभागिता र कारोबार गतिविधिमा अपेक्षित सुधार आउन नसक्दा बजारको दिशा अझै स्पष्ट हुन सकेको छैन।
बजारका जानकारहरुले अहिलेको अवस्थालाई वित्तीय सूचकभन्दा बढी लगानीकर्ताको विश्वाससँग जोडेर हेरेका छन्। ब्याजदर, तरलता, कम्पनीको प्रतिफल र नीतिगत सुधार सकारात्मक हुँदै जाँदा पनि नयाँ पुँजी बजारमा प्रवेश गर्न नसक्नुले मनोवैज्ञानिक पक्षलाई पनि महत्वपूर्ण बनाएको उनीहरूको भनाइ छ।
रानाभाटका अनुसार अहिलेको अवस्थामा लगानीकर्ताले कम्पनीको आधारभूत अवस्था र प्रतिफललाई हेरेर लगानी रणनीति बनाउनुपर्ने देखिन्छ।
‘अबको बजारमा लाभांश रणनीति महत्वपूर्ण हुन्छ। राम्रो प्रतिफल दिने बलिया कम्पनी छनोट गरेर लाभांश लिने र केही समय धैर्य गर्ने रणनीति अहिले उपयुक्त हुन सक्छ,’ उनले भने।
यसरी हेर्दा पछिल्लो समय सेयर बजार सुधारका लागि नीतिगत तथा वित्तीय आधार तयार हुँदै गए पनि त्यसलाई बजारको गतिविधिमा रूपान्तरण गर्ने मुख्य चुनौती भने लगानीकर्ताको विश्वास र सहभागिता बढाउनु देखिएको छ।


