काठमाडौँः गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका ब्रोकर कम्पनीमार्फत कुल १६ खर्ब रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ। यस अवधिमा १ करोड ७२ लाख ९८ हजारभन्दा बढी कारोबारबाट ३ अर्ब ५७ करोडभन्दा बढी कित्ता सेयर बिक्री भएको छ।
ब्रोकर कम्पनीहरूको मुख्य व्यवसाय सेयर तथा धितोपत्र कारोबार हो। सेयर कारोबारबाट प्राप्त कमिसन नै उनीहरूको प्रमुख आम्दानी स्रोत हो।
हाल ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। नासा सेक्युरिटिज लिमिटेड सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बनेको छ। नासा सेक्युरिटिजले १ वर्षमा २ खर्ब २० अर्ब ३० करोड २९ लाख ६३ हजार रुपैयाँबराबरको सेयर कारोबार गरेको छ।
कम्पनीले खरिदतर्फ १ खर्ब ८ अर्ब ४४ करोड र बिक्रीतर्फ १ खर्ब ११ अर्ब ८६ करोडभन्दा बढीको कारोबार गरेको तथ्यांकमा देखिन्छ।
नासापछि दोस्रो स्थानमा भिजन सेक्युरिटिज प्रालि रहेको छ। भिजन सेक्युरिटिजले उक्त अवधिमा १ खर्ब २० अर्ब ३६ करोड ३९ लाख ६९ हजार रुपैयाँबराबरको कारोबार गरेको छ।
तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिज कम्पनी लिमिटेडले १ खर्ब १२ अर्ब ८४ करोड ५९ लाख ४७ हजार रुपैयाँबराबरको सेयर कारोबार गरेको छ।
त्यस्तै, इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिले १ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ बढीको कारोबार गरेको छ। अनलाइन सेक्युरिटिज प्रालिले पनि १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको तथ्यांकमा उल्लेख छ।
यसैगरि, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडले १ वर्षमा ९२ अर्ब २१ करोडभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले ८५ अर्ब ७३ करोड, आर्यातारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले ८१ अर्ब ६१ करोड र दिपशिखा धितोपत्र कारोबार कम्पनीले ७२ अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन्।
त्यसैगरी क्यापिटल म्याक्स सेक्युरिटिजले ६७ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गरेको छ। एबीसी सेक्युरिटिजको ६७ अर्ब ५० करोड रुपैयाँ छ।
कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले ६२ अर्ब १६ करोड र श्रीहरि सेक्युरिटिजले ६२ अर्ब १० करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन्। नेपाल स्टक हाउस लिमिटेडले ६० अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको छ।
त्यस्तै प्रिमियर सेक्युरिटिज लिमिटेडले ५७ अर्ब ७३ करोड, अग्रवाल सेक्युरिटिजले ५७ अर्ब १३ करोड र श्रीकृष्ण सेक्युरिटिज लिमिटेडले ५६ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन्।
दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले ५४ अर्ब २६ करोड, सुमेरु सेक्युरिटिजले ५२ अर्ब ९७ करोड र लिंच स्टक मार्केटले ५१ अर्ब ७३ करोड रुपैयाँबराबरको कारोबार गरेका छन्।
५० अर्बभन्दा कम कारोबार गर्ने ब्रोकरमध्ये एसियन सेक्युरिटिजले ४३ अर्ब ६१ करोड, भृकुटी स्टक ब्रोकिङ लिमिटेडले ४३ अर्ब ४ करोड र प्रिमो सेक्युरिटिजले ४१ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन्।
त्यस्तै देव्या सेक्युरिटिजले ३९ अर्ब ९३ करोड, सेक्योर्ड सेक्युरिटिजले ३७ अर्ब ५८ करोड, कलश स्टक मार्केटले ३५ अर्ब ९२ करोड र साउथ एसियन बुल्सले ३५ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार गरेका छन्।
मिडास स्टक ब्रोकिङले ३५ अर्ब २ करोड, त्रिशूल सेक्युरिटिजले ३४ अर्ब ४० करोड, स्वेता सेक्युरिटिजले ३० अर्ब ७६ करोड र कुमारी सेक्युरिटिजले ३० अर्ब ३ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन्।
सिप्रबी सेक्युरिटिजको कारोबार २९ अर्ब ८४ करोड, अक्सफोर्ड सेक्युरिटिजले २६ अर्ब ५६ करोड र केबीएल सेक्युरिटिजले २५ अर्ब २५ करोड रुपैयाँ कारोबार गरेका छन्।
यसैगरी सिप्ला सेक्युरिटिजले १३ अर्ब ९१ करोड, गरिमा सेक्युरिटिजले ३ अर्ब १४ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेको तथ्यांकमा देखिन्छ।
तुलनात्मक रूपमा सानो कारोबार गर्ने ब्रोकरमध्ये बेनी सेक्युरिटिजले ८४ करोड ४५ लाख ९३ हजार, पाही इन्भेस्टमेन्टले ३८ करोड ६४ लाख ७९ हजार रुपैयाँबराबरकोे सेयर कारोबार गरेका छन्।
त्यस्तै मनी वल्र्ड सेयर एक्सचेन्जले २ करोड १० लाख २१ हजार ३३४ बराबरको कारोबार गरेको देखिन्छ। अन्य ब्रोकरको तुलनामा उक्त रकम निकै कम हो।
कारोबारसँगै कमिसन आम्दानी पनि उल्लेख्य
ब्रोकर कम्पनीहरूको कारोबार रकमसँगै कमिसन आम्दानी पनि उल्लेख्य देखिएको छ।
सबैभन्दा बढी सेयर कारोबार गर्ने नासा सेक्युरिटिजको कूल कमिसन रकम करिब ५५ करोड रहेको छ। नासाको कूल कमिसन आम्दानी ४७ करोड १८ लाख रुपैयाँ छ।
भिजन सेक्युरिटिजको कुल कमिसन रकम करिब ३०.४३ करोड र कुल कमिसन आम्दानी २५.८७ करोड रुपैयाँ छ।
सनी सेक्युरिटिजको कुल कमिसन रकम करिब २९.२५ करोड र कुल कमिसन आम्दानी २४.८६ करोड रुपैयाँ छ।
त्यस्तै, इम्पेरियल सेक्युरिटिजको कुल कमिसन रकम २८.८५ करोड, अनलाइन सेक्युरिटिजको २६.१६ करोड र त्रिशक्ति सेक्युरिटिजको २३.५२ करोड रुपैयाँ छ।
ब्रोकर कम्पनीले ग्राहकको सेयर तथा धितोपत्र किनबेचको रकममा कारोबारको आकारअनुसार कमिसन लिने गर्छन्।
५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म ०.३१ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन शुल्क लिने व्यवस्था छ।
ब्रोकरले उठाएको कमिसनमध्ये २० प्रतिशत नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बुझाउनुपर्छ।


