काठमाडौँः मुलुकको पुँजी बजार लामो समयदेखि प्राथमिक सेयर (आईपीओ) केन्द्रित हुँदै आएको छ। नयाँ कम्पनीको आईपीओ खुल्नेबित्तिकै आवेदन दिन लगानीकर्ताको भीड लाग्ने गरेको छ। आईपीओमा परेको सेयर केही समयपछि महँगो मूल्यमा बिक्री गरेर नाफा कमाउने सोच लगानीकर्तामा पर्दै आएको छ।
तर, बजारको यही प्रवृत्तिले पुँजी बजारलाई दीर्घकालीन लगानीभन्दा छोटो अवधिको नाफातर्फ बढी केन्द्रित गरिरहेको जानकारहरू बताउँछन्। कम्पनीको वित्तीय अवस्था, व्यवसायको सम्भावना र वास्तविक मूल्यभन्दा आईपीओ परेको छ कि छैन भन्ने विषयले बढी महत्व पाउने गरेको उनीहरूको भनाइ छ।
पछिल्लो समय बजारमा अपेक्षित गति आउन नसकिरहेका बेला पुँजी बजारको संरचना र लगानीकर्ताको व्यवहारबारे पनि बहस हुन थालेको छ।
यही क्रममा अब बजारलाई आईपीओमुखी प्रवृत्तिबाट बाहिर निकालेर सामूहिक लगानी कोष (म्युचुअल फन्ड), ऋणपत्र (बोन्ड मार्केट) र अन्य आधुनिक लगानी उपकरणतर्फ विस्तार गर्नुपर्ने आवाज उठ्न थालेको छ।
२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?
सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी पुँजी बजार अब आईपीओमा मात्र निर्भर रहने अवस्थाबाट अगाडि बढ्नुपर्ने बताउछन्। उनका अनुसार, साना लगानीकर्तालाई प्रत्यक्ष रूपमा जोखिमपूर्ण लगानीमा धकेल्नुभन्दा व्यावसायिक व्यवस्थापन भएका म्युचुअल फन्डमार्फत बजारमा सहभागी गराउन सकिने अवस्था बनाउन आवश्यक छ।
उनले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्ने र संस्थागत तथा व्यावसायिक लगानीकर्ताको भूमिका बढाउँदै साना लगानीकर्तालाई म्युचुअल फन्डमार्फत बजारमा ल्याउने व्यवस्था प्रभावकारी हुन सक्ने बताउँछन्।
नेपालल क्लिक्ससँग कुरा गर्र्दै उनले भने ‘नेपाल अब आईपीओमुखी प्रणालीबाट म्युचुअल फन्डतर्फ जाने बेला आएको छ। धितोपत्र बोर्ड अध्यक्षले अघि सोरेको बुक बिल्डिङमार्फत आईपीओ जारी गरेर संस्थागत लगानी बढाउने र साना लगानीकर्तालाई म्युचुअल फन्डमार्फत बजारमा सहभागी गराउने व्यवस्था प्रभावकारी हुन सक्छ।’
गिरीका अनुसार म्युचुअल फन्डसम्बन्धी विद्यमान नीतिमासमेत पुनरावलोकन आवश्यक छ। विशेषगरी म्युचुअल फन्डलाई अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न सक्ने वातावरण बनाएर लगानीको दायरा फराकिलो बनाउनुपर्ने उनको भनाइ छ।
उनले म्युचुअल फन्डले आफ्नो पोर्टफोलियोको केही हिस्सा सार्क राष्ट्रका बजारमा लगानी गर्न पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाएका छन्। यस्तो व्यवस्था भएमा म्युचुअल फन्डको लगानी विविधीकरण हुने र लगानीकर्ताले पनि थप लाभ लिन सक्ने उनको तर्क छ।
म्युचुअल फन्डप्रति किन छैन आकर्षण?
म्युचुअल फन्डको इतिहास तुलनात्मक रूपमा छोटो छ। अर्कोतर्फ, आम लगानीकर्ताको ध्यान प्रत्यक्ष शेयर लगानी र आईपीओमै बढी केन्द्रित छ।
स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्वअध्यक्ष तथा कोहिनूर इन्भेष्टमेन्टस् एन्ड सेक्युरिटिजका सञ्चालक भरत रानाभाट म्युचुअल फन्डले लगानीकर्ताको विश्वास जित्न अझै बाँकी रहेको बताउछन्।
उनका अनुसार लगानीकर्ताले अन्ततः प्रतिफल खोज्ने भएकाले म्युचुअल फन्डले नियमित रूपमा आकर्षक प्रतिफल दिन सक्ने विश्वास निर्माण गर्न आवश्यक छ।
उनले भने,‘लगानीकर्ताले खोज्ने भनेको प्रतिफल हो। म्युचुअल फन्डले पनि यही बजारबाट कमाएर लगानीकर्तालाई दिने हो। तर, हामीले अहिलेसम्म लगानीकर्तालाई नियमित रूपमा राम्रो प्रतिफल दिन सक्छौँ भन्ने स्तरको विश्वास निर्माण गर्न सकेका छैनौँ।’
सञ्चालक रानाभाटका अनुसार बजार बढिरहेको अवस्थामा व्यक्तिगत लगानीकर्तालेसमेत सहजै नाफा कमाउन सक्ने अवस्था हुन्छ। तर, बजार घट्दा वा लामो समयसम्म शिथिल रहँदा दक्ष व्यवस्थापन र अनुसन्धान टोली भएका म्युचुअल फन्डले समेत अपेक्षित प्रतिफल दिन नसक्दा लगानीकर्ताको आकर्षण कमजोर भएको हो।
निक्षेपको ब्याज घट्दा म्युचुअल फन्डलाई अवसर
विगतमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० देखि १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था थियो। त्यस्तो अवस्थामा जोखिमयुक्त म्युचुअल फन्डमा लगानी गर्न सर्वसाधारणलाई आकर्षित गर्न कठिन हुने गरेको रानाभाट बताउँछन्।
तर, पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर घटेर करिब ५–६ प्रतिशतको हाराहारीमा पुगेको अवस्थामा म्युचुअल फन्डका लागि लगानीकर्ताको विश्वास जित्ने अवसर सिर्जना भएको उनको भनाइ छ।
उनका अनुसार, अब म्युचुअल फन्डले बजारको गहिरो अध्ययन र व्यावसायिक व्यवस्थापनमार्फत बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक प्रतिफल दिन सक्ने आधार देखाउन आवश्यक छ।
आईपीओमा आवेदन दिँदैमा नाफा हुँदैन
आईपीओ बजारमा देखिने अत्यधिक आवेदनको मुख्य कारणमध्ये ‘आईपीओ परेपछि नाफा हुन्छ’ भन्ने आम धारणा पनि रहेको छ। अहिले कुनै कम्पनीको आईपीओ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गर्न सकिन्छ भन्ने अपेक्षा लगानीकर्तामा देखिन्छ।
यही कारण कम्पनीको वित्तीय अवस्था वा व्यवसायिक सम्भावना नहेरी आईपीओमा आवेदन दिने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ।
तर, बजार विस्तार हुँदै जाँदा सबै आईपीओको मूल्य बढ्ने अवस्था नहुन सक्छ। कमजोर कम्पनीको सेयर मूल्यसमेत अंकित मूल्यभन्दा तल आउन सक्ने अवस्था सिर्जना भएमा लगानीकर्ताले कम्पनी छनोटमा ध्यान दिन थाल्ने र व्यावसायिक रूपमा व्यवस्थापन भएका म्युचुअल फन्डतर्फ आकर्षण बढ्न सक्ने रानाभाटको तर्क छ।
‘आज आईपीओ यति गुणा ‘ओभरसब्स्क्राइब’ भयो भनेर चर्चा हुन्छ। किनभने लगानीकर्तालाई सय रुपैयाँमा लगानी गरेको सेयर ५–६ सयमा बेच्न सकिन्छ भन्ने अपेक्षा छ।
तर, भोलि सय रुपैयाँमा लगानी गरेको कम्पनीको सेयर मूल्य त्यसभन्दा तल पनि आउन सक्छ। त्यस्तो अवस्था आएपछि लगानीकर्ताले आईपीओमा आवेदन दिनुअघि कम्पनीको अवस्था हेर्न थाल्छन्। म्युचुअल फन्डले राम्रो प्रतिफल दिन थाल्यो भने सक्रिय लगानीकर्ता पनि त्यतातर्फ आकर्षित हुन सक्छन्,’ रानाभाटले भने।
आधुनिक लगानी उपकरण आवश्यक
जानकारहरूका अनुसार पुँजी बजारलाई परिपक्व बनाउन म्युचुअल फन्डको भूमिका मात्र बढाएर पुग्दैन। बजारमा आधुनिक लगानी उपकरणको विस्तार पनि आवश्यक छ।
यसका लागि मार्जिन लेन्डिङ, इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङजस्ता उपकरणको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको रानाभाट बताउँछन्।
मार्जिन लेन्डिङमार्फत लगानीकर्ताले ब्रोकर कम्पनीबाटै सेयर खरिदका लागि आवश्यक रकम जुटाउन सक्छन्। यसले बैंकबाट सेयर धितो राखेर कर्जा लिने प्रक्रियाको विकल्प प्रदान गर्न सक्छ।
त्यस्तै, इन्ट्राडे ट्रेडिङले एउटै कारोबार दिनभित्र सेयर खरिद–बिक्री गर्न सकिने व्यवस्था सहज बनाउने अपेक्षा गरिएको छ। यसले बजारमा कारोबारको सक्रियता बढाउन सक्ने जानकारहरूको भनाइ छ।
त्यसपछि सर्ट सेलिङको व्यवस्था लागू गर्न सकिए घट्दो बजारमासमेत लगानीकर्ताले नाफा कमाउने अवसर पाउनेछन्। त्यसका लागि आवश्यक अक्सन मार्केटको विकाससमेत गर्नुपर्ने रानाभाट बताउँछन्।
रानाभाट भन्छन्,‘हामीले नयाँ कुरा आविष्कार गर्नुपर्ने होइन। विकसित बजारमा प्रयोग भइरहेका प्रभावकारी उपकरणलाई हाम्रो बजारमा व्यवस्थित रूपमा लागू गर्नुपर्छ।
मार्जिन लेन्डिङ ब्रोकरहरूले सुरु गरिसकेका छन्। इन्ट्राडे ट्रेडिङ लागू भएपछि बजार अझ सक्रिय हुन सक्छ। त्यसपछि सर्ट सेलिङ र त्यसका लागि आवश्यक अक्सन मार्केटको विकास गर्न सकिन्छ।’
अबको बाटो के?
पुँजी बजारमा आईपीओको आकर्षण तत्काल समाप्त हुने अवस्था छैन। बजारलाई दीर्घकालीन रूपमा विकास गर्ने हो भने प्राथमिक बजारमा शेयर निष्कासन बढाउने मात्र नभई दोस्रो बजारलाईसमेत गहिरो र विविध बनाउनु पर्ने देखिन्छ।
म्युचुअल फन्डलाई लगानीकर्ताको विश्वास जित्ने गरी सक्षम बनाउने, संस्थागत लगानी बढाउने, लगानीका नयाँ उपकरण विस्तार गर्ने र कम्पनीको वास्तविक मूल्य तथा वित्तीय अवस्थाका आधारमा लगानी गर्ने संस्कार विकास गर्न सके नेपालको पुँजी बजार थप परिपक्व बन्न सक्ने जानकारहरूको धारणा छ।
यसका लागि नियामक निकाय, ब्रोकर, म्युचुअल फन्ड व्यवस्थापक र स्वयं लगानीकर्ताको भूमिका महत्वपूर्ण हुनेछ। आईपीओमा आवेदन दिनुलाई नै लगानीको अन्तिम विकल्प ठान्ने प्रवृत्तिबाट बाहिर निस्केर विविध लगानी उपकरण र व्यावसायिक व्यवस्थापनतर्फ अघि बढ्नु नेपालको पुँजी बजारको आगामी चुनौती र अवसर दुवै बन्ने देखिन्छ।
