काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। सीईओ पदका लागि आवेदन दिएका आठ उम्मेदवारमध्ये चारजना दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट भएका छन्।
छनोट हुनेमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्। अब उनीहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।
अर्थ मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले असोज १९ गते चार उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको हो। समितिले साउन १२ गते नेप्सेको सीईओ पदका लागि आवेदन आह्वान गरेको थियो।
समितिका अनुसार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६.२ बमोजिम प्रारम्भिक मूल्याङ्कनबाट चार उम्मेदवारलाई दोस्रो चरणमा प्रवेश गराइएको हो। अब उम्मेदवारको नेतृत्व क्षमता, प्रस्तावित कार्ययोजना र अन्तर्वार्ताका आधारमा थप मूल्याङ्कन गरिनेछ।
कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयको कोठा नम्बर ४१९ मा हुनेछ।
अनिलराज पौडेलको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे तय गरिएको छ। त्यस्तै, नारायणप्रसाद सापकोटाको साँझ ५ः३० बजे तथा प्रताप सुवेदीको साँझ ६ः३० बजे कार्यक्रम हुनेछ।
समितिले चारै उम्मेदवारलाई तोकिएको समयभन्दा ३० मिनेटअघि अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।
यस चरणबाट चार उम्मेदवारमध्ये उत्कृष्ट ठहरिने उम्मेदवार सीईओ नियुक्तिका लागि सिफारिस हुनेछन्। यद्यपि संक्षिप्त सूचीमा पर्नु नियुक्तिको सुनिश्चितता भने होइन।
नेप्सेको सीईओ पद तत्कालीन सीईओ चूडामणि चापागाईँले असार २२ गते राजीनामा दिएपछि रिक्त छ। लामो समयदेखि रिक्त रहेको नेतृत्व पदमा नयाँ सीईओ नियुक्त भएपछि नेप्सेको सञ्चालन तथा पुँजी बजार सुधारका आगामी योजनामा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ।
