काठमाडौँः एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत र उत्पादनमूलक उद्योगका तीन कम्पनीमा १ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
कम्पनीको प्रस्तावित लगानीमध्ये १ अर्ब २० करोड रुपैयाँ जलविद्युत क्षेत्रमा मात्रै परिचालन हुनेछ। बाँकी करिब १० करोड रुपैयाँ उत्पादनमूलक उद्योगमा लगानी गरिनेछ।
कम्पनीको योजनाअनुसार सोलुखुम्बुमा निर्माणाधीन रहेको ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत अर्धजलासय जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। आयोजनाको प्रवर्द्धक दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडमा कम्पनीले १ करोड कित्ता सेयर खरिद गर्ने प्रस्ताव गरेको छ।
दूधकोशी–२ अर्धजलासय जलविद्युत आयोजनाको क्षमता बढेर ९५.७ मेगावाट पुगेको छ। यसअघि ७० मेगावाटमा आयोजना डिजाइन गरिएको थियो।
दुधकोसी नदीमा पानीको वहाव पहिला अध्ययन गरेको भन्दा बढी देखिएपछि आयोजनाको क्षमता बढेको हो। यसअघि दूधकोसीमा पानीको वहाव प्रतिसेकेन्ड ६२ घनमिटरका आधारमा आयोजनाको डिजाइन ७० मेगावाट गरिएको थियो।
पछिल्लो अध्ययनले पानीको बहाव प्रतिसेकेन्ड साढे ८३ घनमिटर आएपछि आयोजनाको जडित क्षमता बढेको आयोजना विकासकर्ता दूधकोशी हाइड्रोपावरले जनाएको छ। विभागको स्वीकृतिपछि २५.७ मेगावाट विद्युत थपिने भएको छ।
दूधकोशी–२ आयोजनाको क्षमता बढेर पुग्यो ९६ मेगावाट, लागत पनि थपियो
जडित क्षमता वृद्धिसँगै आयोजनाको लाग पनि बढेर २० अर्ब रुपैयाँ पुग्ने भएको छ। यसअघि आयोजनाको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। आयोजनामा संस्थापकले स्वपुँजी (इक्विटी) र बैंकले पनि ऋण थप्नु पर्ने भएको छ।
आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानिमा बैंकले आयोजनामा साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छन्। आयोजनामा बैंकहरुले थप लगानी गर्ने भएका छन्।
त्यस्तै, सङ्खुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक सङ्खुवा ऊर्जा लिमिटेडमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको छ। उक्त लगानीबाट कम्पनीले २० लाख कित्ता शेयर खरिद गर्नेछ।
दूधकोशी–२ लाई जुट्यो लगानी, लक्ष्मी सनराइज बैंकको अगुवाईमा साढे १० अर्ब ऋण
सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।
सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी ३ अर्ब रुपैयाँ घलेम्ली हाइड्रो लिमिटेडलगायत अन्य संस्थापकको इक्विटी लगानी हुने भएको छ। सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्।
त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्। भदौ १० को भोटेकोशी प्रलयपछि वित्तीय व्यवस्थापन भएको छुजुङ संभवत पहिलो जलविद्युत आयोजना हो।
छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण
यी दुई आयोजनाको कुल क्षमता १३३ मेगावाट छ। प्रस्तावित लगानी कार्यान्वयन भए एनआरएन इन्फ्रास्ट्रक्चरको जलविद्युत क्षेत्रमा लगानी थप विस्तार हुनेछ।
एनआरएन इन्फ्रास्ट्रक्चरले जलविद्युतबाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गर्ने भएको छ। कम्पनीले मोरङस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा २ लाख ८५ हजार कित्ता शेयर खरिद गर्न ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।
६ जलविद्युत आयोजनामध्ये ५ सञ्चालनमा
एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गरेका कम्पनीहरूबाट प्रवर्द्धित ६ वटा जलविद्युत आयोजनामध्ये ५ वटा सञ्चालनमा आइसकेका छन्। कम्पनीका अनुसार ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाको निर्माण कार्यसमेत अघि बढिरहेको छ।
उक्त आयोजनाको ५१ प्रतिशत काम सम्पन्न भएको र सन् २०२७ मार्च ५ सम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
सञ्चालनमा रहेका आयोजनासँगै निर्माणाधीन आयोजनामा भएको प्रगतिले कम्पनीको दीर्घकालीन लगानी प्रतिफलमा प्रभाव पार्नेछ। यद्यपि, आयोजनाबाट प्राप्त हुने वास्तविक प्रतिफल विद्युत् उत्पादन सुरु हुने समय, सञ्चालन खर्च, वित्तीय अवस्था र अन्य व्यावसायिक पक्षमा निर्भर रहनेछ।
कम्पनीले समीक्षा अवधिमा कारोबार यथावत् रहेको तथा मौज्दात, लगानी, व्यवस्थापन, आम्दानी र तरलताको अवस्था सन्तोषजनक रहेको जनाएको छ।
खर्चमा मितव्ययिता अपनाउनु र लगानी गरिएका कम्पनी तथा आयोजनाको प्रगति विवरण नियमित रूपमा लिएर अनुगमन गर्नु आफ्नो सबल पक्ष रहेको कम्पनीको भनाइ छ। आगामी दिनमा उपयुक्त लगानी छनोट गर्दै लगानी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने र प्रतिफल सुनिश्चित गर्ने रणनीति कम्पनीले लिएको छ।
कम्पनीले लगानी गरेका परियोजनाको प्रगति अनुगमनलाई प्राथमिकतामा राखेको जनाएको छ। नयाँ लगानी गर्दा सम्भावित प्रतिफलसँगै जोखिमको मूल्यांकन गर्ने र विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने नीति अवलम्बन गरिएको छ।
होटलमा भएको क्षतिपछि पुनर्निर्माण जारी
कम्पनीले लगानी गरेको वर्णबास म्युजियम होटलमा २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको थियो। कम्पनीका अनुसार होटलको बीमा दाबी प्रक्रिया अघि बढाइएको छ र अन्तरिम दाबी भुक्तानीबापत ५ करोड रुपैयाँ प्राप्त भइसकेको छ।
हाल उक्त होटलको पुनर्निर्माण कार्य अघि बढाइएको र छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। होटलमा भएको क्षति तथा पुनर्निर्माणको अवस्थाले कम्पनीको लगानी व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।
ब्याजदर र बजारको उतारचढाव मुख्य चुनौती
कम्पनीले तरलता, बजार ब्याजदरको उतारचढाव तथा अन्तर्राष्ट्रिय द्वन्द्वबाट उत्पन्न आर्थिक अनिश्चिततालाई लगानीका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। बाह्य आर्थिक परिस्थितिले लगानी बजार तथा अपेक्षित प्रतिफलमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्न सक्ने कम्पनीको विश्लेषण छ।
त्यसका बाबजुद कम्पनीले जोखिम व्यवस्थापन गर्दै नयाँ तथा सुरक्षित लगानीका क्षेत्र पहिचान गर्ने र दीर्घकालीन लगानीबाट प्रतिफल सुनिश्चित गर्ने रणनीति अघि बढाएको जनाएको छ।
तीन कम्पनीमा प्रस्तावित करिब १ अर्ब ३० करोड रुपैयाँको लगानीले एनआरएन इन्फ्रास्ट्रक्चरको लगानी विस्तार योजनालाई थप अघि बढाउने देखिन्छ। तर प्रस्तावित लगानीको वास्तविक उपलब्धि भने लगानी कार्यान्वयन, आयोजनाको प्रगति र सम्बन्धित कम्पनीहरूको वित्तीय प्रदर्शनमा निर्भर रहनेछ।


