काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ। केही वर्ष अगाडिसम्म दशैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे।
तर, वि.स. २०८१ देखि यो सङ्ख्या बढेर तीनदेखि चार पुगेको छ। यो सङ्ख्या घरेलु फिल्म अर्थात नेपाली फिल्मको हो । विदेशी फिल्म जोड्ने हो भने दशैंमा दर्शकले न्यूनतम सात वटासम्म फिल्म हेर्ने च्वाइस पाउँछन्।
राम्रा र ठूला व्याकरणका फिल्म एकआपसमा भिड्दा दर्शक बाँडिनु स्वाभाविक नै हो । प्रायः दर्शकले एउटा फिल्म हेर्ने योजना बनाएका हुन्छन्, त्यसैले अपेक्षित व्यापार नहुन पनि सक्ने बताइन्छ। यो वर्ष दशैंलाई लक्षित गर्दै तीन फिल्म प्रदर्शन हुँदैछन् । दर्शकले मन पराएर घरेलु बजारमा १० करोड बढीको कलेक्सन गरेपछि ती फिल्मका निर्माताले विदामा बढी दर्शक पाइने लोभले दशैं लक्षित गरेको पाइन्छ।
दशैंलाई लक्षित गर्दै आगामी असोज ३० देखि ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शन हुँदैछ भने असोज ३१ मा ‘छ माया छपक्कै २’ प्रदर्शन हुँदैछ । यी फिल्मको अघिल्लो भाग घरेलुबजारमा सफल थिए।
आखिर निर्माताको रोजाईमा दशैं नै किन पर्छ त ? यसबारेमा अभिनेता, लेखक तथा निर्माता रहेका दीपकराज गिरी चाडपर्वमा फिल्म हेर्ने माहोल भएकाले पनि आफ्ना फिल्महरू दशैंमा आउने गरेको बताउँछन्।
‘हामीले आफ्ना फिल्महरू प्राय दशैंमै ल्याउने गरेका छौँ । किनकी हाम्रो फिल्म हेर्न परिवार नै आउनु हुन्छ, त्यसैले पनि फिल्म बनेपछि दशैं नै लक्षित गरेर प्रदर्शनमा ल्याउने गरेका छौँ’, अभिनेता गिरीले भने।
त्यसो त उनको पहिलो निर्माण रहेको फिल्म ‘६ एकान ६’ माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको थियो । त्यो समयमा पनि राम्रो व्यापार गरेको थियो । तर, अन्य समय भन्दा दसैँमा फिल्मको दर्शक बढ्ने पाएपछि अभिनेता गिरी दशैं छाड्न तयार छैनन्।
उनी फिल्म तयार भएपछि दशैं रोज्ने गर्छन् । विसं २०८१ मा को दशैंमा प्रदर्शन भएको ‘१२ गाउँ’ ले अनपेक्षित व्यपार गरेपछि अभिनेता तथा निर्देशक विराज भट्ट यसको सिक्वेल आगामी असोज ३० मा ल्याउँदैछन्।
‘१२ गाउँ’ ले घरेलु बजारमा झन्डै २० करोडको ग्रस कमाइ गरेको थियो । सोही कारण यसको सिक्वेललाई दशैंमै ल्याउने अडानमा अभिनेता भट्ट थिए।
नेपाली फिल्ममा लामो समय एक्सन स्टारको छवि बनाएका अभिनेता भट्टले नेपालीसँगै भोजपुरी भाषाका फिल्ममा पनि अभिनय गरे । भोजपुरी भाषाका फिल्महरूको दर्शक घट्न थालेपछि उनी नेपाल फर्किएर पुनः सक्रिय भएका हुन्।
यद्यपि, उनको कमब्याक भने सुखद भएको थिएन । किनकि उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म ‘साङ्गलो’ सफल भएको थियो।
‘१२ गाउँ’ मार्फत उनले आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यु गराएपछि अचानक उनको चर्चा बढ्यो । सोही कारण ‘१२ गाउँ २’ दशैंमा प्रदर्शन हुँदैछ।
यद्यपि, यसपटक अभिनेता विराज भट्टलाई सहज भने छैन । किनकि फिल्मको प्रचार हुने उदेश्यले उनले युट्युबमा सार्वजनिक गरेको ‘१२ गाउँ’ ले सकारात्मकको तुलनामा नकारात्मक प्रतिक्रिया धेरै पाएको छ। अर्थात् फिल्मलाई मन पराउने दर्शकको सङ्ख्या न्यून छ । त्यसकारण पनि ‘१२ गाउँ २’ के हुन्छ भन्ने जिज्ञाशा बढी छ।
असोज ३० मै प्रदर्शन हुने अर्को फिल्म हो, ‘आ बाट आमा २’ । गत वर्ष विसं २०८२ को माघमा प्रदर्शन भएको फिल्मले घरेलु बजारमा झन्डै १३ करोड ग्रस कमाइ गरेको थियो। सोही कारण यसलाई दशैंमा प्रदर्शनमा ल्याउने निर्णय निर्देशक तथा निर्माता चन्द्र पन्तले गरेका छन्। यद्यपि, उनी फिल्मको कथामा दशैंको प्रसंग बलियो रुपमा जोडिएकाले दसैँ नै प्रदर्शनका लागि उपयुक्त रहेको बताउँछन्।
‘हामीले फिल्मको कथालाई दशैंसँग जोडेर तयार गरेका छन् । छोराको पर्खाइमा रहेकी आमाको कथा हो, त्यसैले पनि हामीले प्रदर्शनका लागि दशैं रोजेका हौँ । फिल्म हेरेपछि यो फिल्म दशैंमा नै किन प्रदर्शन गरियो भन्ने अझैँ धेरै प्रस्टीन्छ’, निर्देशक पन्तले भने।
उनले फिल्मको शिर्षकमै ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भनेर ट्यागलाइन दिएका छन्।
उल्लेखित तिनै फिल्मले सार्वजनिक गरेको प्रचार सामग्रीलाई अवलोकन गर्ने हो भने अन्य दुई भन्दा ‘आ बाट आमा २’ निकै अगाडि देखिएको छ। यसको सार्वजनिक गीतसङ्गीत, टिजर, ट्रेलरलाई युट्युबमा धेरै भ्यूज प्राप्त भएको छ । यसको आधारमा विश्लेषण गर्ने हो भने यसले घरेलुबजारमा बम्पर सुरुआत गर्नसक्छ । यद्यपि, फिल्म प्रदर्शन नभई यसबारे स्पष्ट भन्न सकिन्न्।
बिदाको समय विनानै दर्शकको मनमा आफ्नो स्थान बनाएर घरेलुबजारमा सफल भएका यी फिल्महरू दसैँको बिदामा के हुन्छन् ? यो जिज्ञासा दर्शक भन्दा बढी फिल्मकर्मीलाई छ।




