सूर्य पनि सेलाउँदै गए जस्तो, घाम बिस्तारै न्यानो हुन्थ्यो। धानका बालाहरू लहलह झुल्न थाल्थे। तरेली परेका सपाट फाँटहरूमा ढकमक्क कोदोको शिर छोएर हल्का चिसो तर रोमाञ्चक बतास बहेली खेल्थ्यो। घरका भित्तामा पोतिएको रातो माटो र कमेरोको गन्ध नाकमा हररर आउँथ्यो। अनि दशैँ आउँथ्यो।
विवाहित नवजोडीहरू गाउँभरिबाट जम्मा गरेको दूधको कुराउनी पकाउन थाल्थे। काकाहरू पिङ हाल्न थाल्थे। हामी पोया बनाउन बाबियो र सनपाटका बुच्छा जम्मा गर्न जुट्थ्यौँ। हजुरबाको प्रिय रेडियोले मालश्री धुन बजाउँथ्यो।
नयाँ कपडा, उल्लासले भरिएको अनुहार र झोलाभरि खुसी बोकेर आएका परदेशीले रौनक थप्थे। परदेशीले ओखतीका रूपमा बाहरूलाई रम चखाउँथे, आमाहरूलाई वासनादार साबुन, स्याम्पु तथा नयाँ डिजाइनका चप्पलहरू आउँथे। हामीलाई मिठाइ। मिठाइका रंगीन खोल जम्मा गरेर हामी फूल बनाउँथ्यौँ।
त्यसरी गाउँमा तरङ्ग बोकेर आएका झोला, डिब्बा, गुन्टाहरू नै रेमिटेन्स रहेछन्।
दशैँको सामाजिक र सांस्कृतिक भव्यता, ओज र निरन्तरतामा आर्थिक उत्सव, यिनै झोला वा यही रेमिटेन्सले थप्दो रहेछ। घरको, नयाँ लुगाको, अनुहारको बदलिएको रङ, रेमिटेन्स न रहेछ। तर अब गाउँ उस्ता छैनन्। रित्तिँदै छन्।
तर त्यसवेला गाउँको छुट्टै प्राण थियो, त्राण थियो, शान थियो, मर्म र अस्तित्वबोध थियो। त्यसवेला गाउँ आत्मनिर्भर थियो, आत्मसम्मानको आत्मबोधमा गौरव मानेर पौरख गरिरहन्थ्यो। अहिले जस्तो आर्थिक लाभ मात्रै एकोहोरो रूपमा यति ठूलो फरक ग्राफमा उकालो लागेको थिएन² एउटा जीवित सभ्यता, आपसी भाइचारा र सहृदयता तथा आत्मिक मेल र सामूहिक खुसीको साझा उत्सव लिएर प्रत्येक दशैँ हामीमाझ आइपुग्थ्यो।
सांस्कृतिक परम्परालाई आत्मबोध गरी प्राकृतिक जीवनशैली, आत्मीय प्रेम र मायासहित सामाजिक सीमा र जिम्मेवारीभित्र हामीले दशैँ मनाउँथ्यौँ, यी सबैको साङ्गोपाङ्गो हामीले आर्जन गर्ने कमाइसँग प्रत्यक्ष जोडिन्थ्यो।
यसरी परम्परादेखि नै दशैँको विराटतासँग रेमिटेन्सको साइनो पारिवारिक साइनो जस्तै अकाट्य, महत्वपूर्ण र अनिवार्य छ। समयसँगै आज मैले घरमा साझा खुसी भित्र्याउने रेमिटेन्स क्षेत्रमा काम गर्ने अवसर पाएको छु। पछिल्लो १७ वर्षदेखि देश भित्रिएका खुसीका विभिन्न पक्ष र आयामहरूलाई नजिकबाट तथ्य र तथ्यांकसहित बुझ्ने प्रयास गरिरहेको छु।
कुनै संस्थागत सुरुवात हुन नसकेको हो वा, हामीमा व्यावसायिक संस्कारको अभ्यास नभएर हो, हामीले हाम्रा आर्थिक आवश्यकता हाम्रा स्रोतहरूबाट पूरा हुनसक्ने सम्भावनाहरूलाई नियालेनौँ। अथवा हुनसक्थ्यो हाम्रा केही भौगोलिक, सामाजिक, प्रशासनिक र राजनीतिक व्यवस्थाले हामीलाई हाम्रो माटोमा हाम्रा सम्भावनाका फल्न दिएनन्। वा अझै हुन सक्छ हामी अरूले तय गरेका कामबाट सजिलो आर्जनको सजिलो बाटो रोज्यौँ।
सन्दर्भ जे जस्ता भए पनि आजको विश्व व्यवस्थाले भिन्नै स्वरूप लिइसकेको छ। अब हामी विश्व नागरिक बनिसकेका छौँ। सुविधा र सम्भावनाको खोजीमा विदेशिनु वा आफ्नो स्थान छाड्नु कुनै नौलो र फरक कुरा रहेन। होइन।
राजमार्गमा यात्रा गर्दा राजमार्ग वरपर बनेका औसत साढे दुईतले पक्की घर, घर भित्रिएका ठूला टेलिभिजन, ‘वासिङ मेसिन’, पानी तताउने ग्यास गिजरसहितका आधुनिक सुविधा तथा दैनिक कामकाजका लागि हामीले प्रयोग गर्ने हाम्रा सवारी साधन, यी सबै कुरासँग प्रत्यक्ष योगदान गर्ने रेमिटेन्सको क्षेत्रमा रहेर यो देशभित्र रहेका प्रत्येक रेमिट होल्डर मानिसको सेवामा सहभागी हुन पाउँदा मन प्रसन्न हुन्छ।
हाम्रो देश समाज परिवार र व्यक्तिको जीवनको आर्थिक उन्नतिको रूपमा रहेको रेमिटेन्सले व्यक्ति, परिवार, समाज र देशको सर्वपक्षीय विकासमा प्रत्यक्ष योगदान रेमिटेन्सले गरिरहेको छ।
मलाई अचेल हामीले हासिल गरेको आर्थिक सफलताले हाम्रा अरू क्षेत्रहरूमा देखाएको ह्रासले पीडाबोध हुन थालेको छ। देशलाई जब–जब आपत् पर्छ, यही रेमिटेन्स क्षेत्रले नै दरिलो सारथि बनेर सहयोग गर्ने गरेको छ। उदाहरण नाकाबन्दी, महाभूकम्प हुँदै गत भदौ १० गते भोटेकोशी नदीमा अकास्मात् गएको अकल्पनीय बाढी हाम्रा सामुन्ने छन्। यस्ता प्राकृतिक तथा अप्राकृतिक विपत्तिहरूमा सबैभन्दा पहिलो सहयोग रेमिटेन्स र यससँग सम्बन्धित क्षेत्रले गर्ने गरेका छन्।
मुलुकबाहिर पुगेर रेमिटेन्स आप्रवाह गर्ने अधिकांश युवाहरूको उद्गम थलो ग्रामीण क्षेत्र हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई रु. २ खर्ब १५ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
यस्ता आर्थिक सूचकहरूले क्षति पुर्याएका अन्य सामाजिक सूचकको क्षतिपूर्ति गर्न कुनै अर्को व्यवस्था गर्न कुनै अर्को व्यवस्था अब हामीले गर्नुपर्ने आवश्यकता अचेल मलाई हुन थालेको छ। अब म बालापनमा पुग्न त सक्दिनँ, तर अहिले बालापन भएकाहरूले मैले बाल्यकालमा मनाए जस्तै उत्सवपूर्ण र अर्थपूर्ण दशैँ स्मृतिमा सधैँ रहने गरी मनाउन पाउनुपर्छ।
हजुरबुवा–हजुरआमाका देववाणी जस्तो आशीर्वाद, बुवाआमाको स्नेही रेखदेख, गाउँ छिमेकीको भरोसायोग्य संरक्षण तथा समकक्षी बालसखाहरूको अन्त्यहीन खुसी किन हाम्रो समाजमा एक्कासि क्षीण भएर गयो म आफैँ बिलखबन्दमा पर्छु। सामूहिक भाव, सहअस्तित्व, समान व्यवहार, साझा खुसी र साझा सफलतालाई किन रेमिटेन्सको माध्यमबाट आर्जित आर्थिक लाभको प्रतिस्पर्धामा उछिन्न र लाभ गर्न खोजेको हो म अनुत्तरित छु।
वस्तु विनिमयबाट सग्लो मानव सभ्यताको निर्माण गरेका हाम्रा पुर्खाहरूको आत्माले मुद्रा विनिमयद्वारा सुसज्जित हाम्रो दैनिकी आचरण र जीवनशैली देख्दा दिक्क मान्दा हुन् कि नाइँ? एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
दुर्गा माताले हामीलाई यस्ता कुराहरूमा गहिरो रुचि प्रदान गरून्।


