काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो। यसअनुसार योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ।
निष्काशन हुने इकाईमध्ये १ करोड ५० लाख इकाई अर्थात् कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतसम्म कोष प्रवर्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सिटिजन्स सुपर ५० मा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
निष्काशन मंसिर ७ गतेसम्म खुला रहनेछ। उक्त अवधिमा मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म थप गर्न सकिनेछ।
योजनाको निष्काशन सफल हुन कम्तीमा ५० प्रतिशत इकाई बिक्री हुनुपर्नेछ। अर्थात् कुल १० करोड इकाईमध्ये न्यूनतम ५ करोड इकाईका लागि आवेदन पर्न आवश्यक छ। निर्धारित न्यूनतम इकाई बिक्री नभए योजना खारेज हुने र आवेदकबाट प्राप्त रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने क्यापिटलले जनाएको छ।
सिटिजन्स सुपर ५० बन्दमुखी योजना हो र यसको अवधि १० वर्ष तोकिएको छ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्।


