काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।
सुवेदीलाई मीनभवनस्थित नेपाल प्रेसको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो भने बराललाई अनामनगरबाट नियन्त्रणमा लिइएको हो।
पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ। त्यहाँ सादा पोसाकमा आएका चारदेखि पाँच जनाको टोलीले पत्रकार नवराज मैनालीको खोजी गरेको समाचार सम्पादक खगेन्द्र पन्तले बताएका छन्। मैनालीलाई खोज्न पुगेको टोलीसँग पक्राउ पुर्जी नभएको उनले बताए। नयाँपत्रिकाले सार्वजनिक गरेको भिडियोमा सादा पोशाकमा रहेका प्रहरीले पुर्जी चाहिदैन भनेको देखिन्छ।
प्रहरीले दियो पोस्टका प्रधान सम्पादक सुदीप विश्वकर्मालाई पनि खोजिरहेको बताइएको छ। उनको खोजीका क्रममा प्रहरी टोली सञ्चारगृहको कार्यालयसम्म पुगेको दियो पोस्टले जनाएको छ।
नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि प्रहरीले साइबर ब्युरोमा उपस्थित हुन भनेको छ। आफूहरू प्रहरीको आग्रहअनुसार उपस्थित भएको पौडेलले जानकारी दिएका छन्।


