काठमाडौँः नेपालमा बीमाको दायरा बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ। हालसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ५२.३५ प्रतिशत पुगेको छ।
म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार बीमालेखसमेत गणना गर्दा २०८३ साउनसम्म बीमाको दायरामा आएको जनसंख्या ५२.३५ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको साउनमा यस्तो जनसंख्या ४९.०८ प्रतिशत थियो।
चालू आर्थिक वर्ष २०८३/०८४ को साउनमा जीवन बीमा कम्पनीहरूले ७ लाख ४१ हजार ५२१ वटा जीवन बीमालेख जारी गरेका छन्। यसमध्ये जीवन बीमा कम्पनीहरूले ३ लाख ८५ हजार २२१, लघु जीवन बीमकहरूले २ लाख ८५ हजार ५६९ र वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलले ६९ हजार ७३१ वटा बीमालेख जारी गरेका छन्।
यस अवधिमा जारी भएका जीवन बीमालेखको कुल बीमांक रकम २ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, २०८३ साउन महिनामा जारी निर्जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशत वृद्धि भएको छ।
यससँगै निर्जीवन बीमालेखको संख्या २ लाख ५४ हजार ६०७ पुगेको छ। गत आर्थिक वर्षको साउनमा यस्तो संख्या २ लाख ४३ हजार ७४१ रहेको थियो।
बीमा प्रिमियम संकलनमा पनि वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा बीमा प्रिमियमबापत संकलित रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२ प्रतिशत बढेको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा संकलित कुल बीमा प्रिमियममध्ये जीवन बीमातर्फ ८३.१ प्रतिशत र निर्जीवन बीमातर्फ १६.९ प्रतिशत हिस्सा रहेको छ। गत आर्थिक वर्षको साउनमा यस्तो हिस्सा क्रमशः ८२ प्रतिशत र १८ प्रतिशत थियो।
बीमा बजार विस्तारसँगै पछिल्ला वर्ष प्राकृतिक प्रकोप र आन्दोलनमा भएका आगजनीका कारण कम्पनीमाथि जोखिम दायित्व ह्वातै बढेको छ। गत वर्ष भदौ २४ मा भएको तोडफोड र आगजनीमा २५ अर्ब रुपैयाँ बढी दाबी परेको थियो। भदौ १० मा रसुवा भोटेकोशी त्रिशूली नदीमा आएको भीषण बाढीका कारण झण्डै २१ अर्ब रुपैयाँ दाबी परेको छ।
सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।
हाल मुलुकमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।
पछिल्लो तथ्यांकले बीमा पहुँच, नयाँ बीमालेख, सक्रिय बीमितको संख्या र प्रिमियम संकलन सबै सूचकमा सुधार देखिएकाले आगामी दिनमा पनि बीमा क्षेत्रको विस्तारले निरन्तरता पाउने अपेक्षा गरिएको छ।


