२०८३ कार्तिक २१ गते शुक्रबार

चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
photo_a403bd27

इटहरी: चिसो मौसमको कुनै प्रवाह थिएन। साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो। कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित त कोही टाढाटाढाबाट मनपर्ने ब्यान्डको प्रस्तुति हेर्ने उत्साह बोकेर। चिसो सिरेटोबीच रंगशालामा जम्मा भएको भीडको प्रतीक्षा एउटै थियो– नेपथ्यलाई प्रत्यक्ष हेर्ने र अमृत गुरुङका गीतमा रमाउने।

जब स्टेजमा नेपथ्यको आगमन भयो, चिसो मौसम एकाएक उत्साहको तापमा बदलियो। दर्शकको हुटिङ, ताली र चिच्याहटले रंगशाला गुञ्जायमान बन्यो। मञ्चबाट निस्किएको प्रकाशको झिल्को, धुवाँको मुस्लो र आकाशतिर सोझिएका शक्तिशाली प्रकाशपुञ्जले वातावरणलाई झनै रोमाञ्चक बनाइरहेका थिए। हजारौँ मोबाइलका बत्ती एकैसाथ बल्दा रंगशाला कुनै तारामय आकाशभन्दा कम देखिँदैनथ्यो।

बालकदेखि वृद्धसम्म, किशोरकिशोरीदेखि युवायुवतीसम्म सबैको अनुहारमा एउटै खुसी थियो। कोही गीतसँगै स्वर मिलाइरहेका थिए, कोही हात उठाएर नाचिरहेका थिए त कोही मोबाइलमा त्यो अविस्मरणीय क्षण कैद गर्न व्यस्त थिए। दर्शकदीर्घामा उमेरको कुनै सीमा थिएन, उत्साहको कुनै कमी थिएन।

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा बुधबार साँझ करिब १० हजार दर्शक यसरी नै झुमे।

इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ एउटा सांगीतिक कार्यक्रम मात्र रहेन, पूर्वी नेपालको सांगीतिक उत्साह र दर्शकको अपार आकर्षण प्रदर्शन गर्ने जमघटसमेत बन्यो।

आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार कन्सर्टका लागि ८ हजार ५ सय टिकट बिक्री भएको थियो भने थप १ हजार ५ सय पास वितरण गरिएको थियो। टिकट र पासमार्फत करिब १० हजार दर्शकले नेपथ्यको प्रस्तुति प्रत्यक्ष हेरे। टिकट बिक्री भइसकेपछि पनि कन्सर्ट हेर्ने आशामा रंगशाला पुगेका कतिपय तन्नेरी निराश हुँदै फर्किनुपरेको थियो। भित्र भने दर्शकको भीडले मैदान भरिएको थियो।

साँझ करिब ६ बजे स्टेजमा उक्लिएका नेपथ्यका मुख्य गायक अमृत गुरुङले ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरे। त्यसपछि सुरु भएको सांगीतिक यात्राले तीन घण्टासम्म दर्शकलाई लगातार बाँधिरह्यो।

‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु भएसँगै मञ्चमा धुवाँ फैलियो। रङ्गीबिरङ्गी प्रकाश घुम्न थाले, आकाशमा पताका उड्न थाले र दर्शकको आवाज झन् चर्कियो। त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’, ‘रुकुम’ लगायतका गीतले माहोललाई थप उचाइमा पुर्याए।

नेपथ्यका गीतसँग दर्शकको सम्बन्ध मनोरञ्जनमा मात्र सीमित थिएन। धेरैका लागि ती गीत सम्झनाका हिस्सा थिए, कसैका लागि जीवनका अनुभूति त कसैका लागि देश र माटोसँग जोडिने माध्यम। पुराना लोकप्रिय गीत बज्दा वृद्धवृद्धासमेत गीतसँगै गुनगुनाइरहेका देखिन्थे भने नयाँ पुस्ता मोबाइलमा भिडियो खिच्दै र हात हल्लाउँदै रमाइरहेको थियो।

कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ ले दर्शकलाई फेरि एकपटक उफार्‍यो। अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गर्दै नेपथ्यले तीन घण्टे सांगीतिक यात्राको बिट मार्‍यो।

गीतसँगै सन्देश : युवालाई अमृतको आग्रह

अमृत गुरुङको प्रस्तुति गीत गाउने र दर्शक नचाउनेमा मात्रै सीमित रहेन। उनी गीतका बीच–बीचमा दर्शकसँग संवाद गर्थे र जीवनोपयोगी सन्देश पनि बाँड्थे। विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले जीवनलाई धुवाँमा नउडाउन, गरिब तथा दुःखीलाई सकेको सहयोग गर्न र देश घुमेर आफ्नो माटोलाई चिन्न आग्रह गरे।

‘देश हामीले नै बनाउनुपर्छ’ भन्ने उनको आग्रहले दर्शकको ध्यान संगीतबाट केही क्षण जीवन र समाजतर्फ पनि तान्यो।

उनले नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम राख्न र हिमाल, पहाड तथा तराईलाई भावनात्मक रूपमा जोड्नुपर्ने सन्देश दिए। देश निर्माणको जिम्मेवारी राजनीतिक दल, कर्मचारी, समाजका अगुवा र नीति निर्मातासहित सबैको भएको उनको भनाइ थियो।

परोपकारको प्रसंगमा उनले छरछिमेकमा शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सक्नु ठूलो पुण्य हुने भाव व्यक्त गरे। जीवनलाई सकारात्मक काममा लगाउन र अरूको दुःखमा साथ दिन उनले दर्शकलाई प्रेरित गरे।

एउटा कलाकारको आग्रह सुन्न हजारौँ मानिस एकै ठाउँमा जम्मा हुनु आफैँमा अर्थपूर्ण दृश्य हो। विशेषगरी युवापुस्ताले आफ्ना प्रिय गायकबाट पाउने यस्ता सन्देशले मनोरञ्जनसँगै सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना जगाउन सक्छन्।

अभिभावक र शिक्षकले बारम्बार सम्झाउँदा पनि बेवास्ता गर्ने कतिपय युवाका लागि प्रिय कलाकारको आवाज प्रेरणाको माध्यम बन्न सक्छ।

पुस्ता जोड्ने संगीतको शक्ति

कन्सर्टमा युवायुवतीको बाहुल्य देखिए पनि अन्य उमेर समूहका दर्शकको उपस्थिति पनि उत्तिकै उल्लेखनीय थियो। नेपथ्यका गीतले पुस्ताबीचको दूरी मेटाएको दृश्य रंगशालामा प्रस्ट देखिन्थ्यो। पुराना पुस्ता आफ्ना सम्झनाका गीतमा रमाइरहेका थिए भने नयाँ पुस्ता त्यही संगीतमा आफ्नै उमंग खोजिरहेको थियो।

इटहरी मात्र होइन, सुनसरी, मोरङ, झापा, धनकुटा, इलामलगायत पूर्वी नेपालका विभिन्न क्षेत्रबाट दर्शक आएका थिए। भारतको सिक्किम र दार्जिलिङबाट समेत नेपाली संगीतका पारखीहरू सहभागी भएको आयोजकले जनाएको छ। यसले नेपथ्यको लोकप्रियता भौगोलिक सीमाभन्दा बाहिरसम्म फैलिएको देखाएको छ।

मञ्चमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। वाद्यवादनको सशक्त संयोजन, प्रकाशको आकर्षक व्यवस्थापन र दर्शकको उत्साहले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

इटहरीमा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति थियो। करिब १० हजार दर्शकको सहभागिताले इटहरीमा ठूलो स्तरका सांगीतिक कार्यक्रमप्रति दर्शकको आकर्षण र बजार सम्भावनालाई उजागर गरेको छ।

कार्यक्रम पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा, इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेश सरकारको प्रवद्र्धनमा सम्पन्न भएको हो। आयोजकले कन्सर्टलाई मनोरञ्जनसँगै इटहरीको सांगीतिक तथा सांस्कृतिक पहिचान विस्तार गर्ने अवसरका रूपमा लिएको थियो।

यस्ता कार्यक्रमले स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

बुधबार राति इटहरी रंगशालामा देखिएको दृश्य एउटा सांगीतिक कार्यक्रमको सफलतामा मात्रै सीमित थिएन। त्यो नेपाली संगीतप्रतिको मोह, पुस्ताबीचको आत्मीयता, सामूहिक उत्साह र आफ्नो माटोसँग जोडिने भावनाको उत्सव पनि थियो।

तीन घण्टासम्म गीत गुञ्जिए, हजारौँ पाइला एकै लयमा चले, हजारौँ हात एकैसाथ उठे। अन्तिम गीत सकिएर मञ्चका बत्ती निभे पनि दर्शकका अनुहारमा देखिएको खुसी र कानमा गुञ्जिरहेका नेपथ्यका धुन लामो समयसम्म मेटिनेवाला थिएनन्।

चिसो इटहरीको त्यो रात संगीतले न्यानो बनाएको थियो। नेपथ्यले गीत मात्रै सुनाएन, हजारौँ मनलाई एउटै लयमा जोडेर फर्कियो।

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार १२:५६
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना