काठमाडौँ-
शब्द हो ब्रह्म शब्द नै ज्ञान
सधैँ सत्य बोलौँ, बनौँ महान्।
शत्रु–मित्रु सब मुखकै कारण,
मन्त्र वा श्राप बन्छ उच्चारण।
सोचौँ, सम्झौँ, शब्द केलाऔँ,
अपशब्दहरुमा लगाम लगाऔँ।
आफ्नो कविता सङ्ग्रह शब्दब्रह्ममा कवि डा भानुभक्त आचार्यले यसरी प्रस्तुत गरेका छन् शब्दको महत्व र शक्ति। शब्द ज्ञान र ब्रह्म हो भनेर आफ्नो कविता सङ्ग्रहको पहिलो कविता प्रस्तुत गरेका कवि डा आचार्यले शब्दको प्रयोग गर्दा सोचेर, सम्झेर र केलाएर मात्र प्रयोग गर्न सुझाएका छन्।
कविता सङ्ग्रहको नाम शब्दब्रह्म राखेकामा कवि डा भानुभक्त आचार्यले पुस्तकको भूमिकामा पनि अर्थ्याएका छन्।
‘हाम्रा धर्मशास्त्रमा वर्णित विभिन्न पात्रले वरदान दिन होस् वा श्राप दिन वा साधना गर्न होस् वा सृष्टि गर्न शब्दहरुको रणनीतिक प्रयोग गरेका छन्। सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ,’ उनी भन्छन्, ‘यो आफैँमा ब्रह्ममय छ। शब्दहरुले वेदका ऋचा बनेका छन्। गायत्री मन्त्रलगायत हरेक शक्ति, साधना र उपासनाका मन्त्रहरु शब्दमय छन्। त्यसैलाई मैले शब्दब्रह्म शीर्षक कवितामा भनेको छु, शब्दमै सृष्टि, स्थिति र लय छ।‘
त्यसो त शब्दको प्रयोग नहुने ठाउँ नै छैन। शब्दब्रह्म कविता सङ्ग्रहमार्फत कविका रुपमा उदाएका डा आचार्य पत्रकार र यसै विषयमा प्राध्यापन गर्छन्। पत्रकारिता शब्दहरुकै पेसा हो, शब्दपर पनि त्यहाँ सञ्चार त छ तर त्यसले पनि असङ्ख्य शब्द बोकेको हुन्छ।
शब्दब्रह्मकै शक्ति र आफ्नो पुस्तकको नामकै बचाउमा लेख्छन्, ‘पौराणिक वा दार्शनिक विश्लेषणबाट अहिलेको वस्तुस्थितिमा फर्कने हो भने पनि शब्द ब्रह्ममय छ। आमसञ्चार र पत्रकारिता पेसामा मात्र होइन कूटनीति, राजनीति, अर्थनीति, संस्कृति आदि सबै पेसा व्यवसायमा शब्दहरुको प्रयोग, सदुपयोग र पुनःप्रयोग गरिन्छ। अर्थात् हामी जेसुकै पेसा वा व्यवसायमा संलग्न भए पनि शब्दहरुको कारखानामा जोडिएकै छौँ। सुशब्दले हाम्रो मर्यादा र इज्जत बढाएको छ, कुशब्दले हामीलाई दुःख दिएको छ, तड्पाएको छ। त्यसैले त ‘मन्त्र वा श्राप बन्छ उच्चारण’ भनिएको हो।’
आवरण प्रकाशनले बजारमा ल्याएको शब्दब्रह्म कविता सङ्ग्रहको सार्वजनिकीकरण समारोहमा शुक्रबार उपस्थित विशिष्ठ व्यक्तित्वहरुले यो तथ्यकै वरपर रहेर विवेचना गरे। धार्मिक आध्यात्मिक चिन्तक एलपी भानु शर्माले शब्दको शक्तिलाई कुनै वस्तु या चिन्तनसँग मापन गर्न नसकिने बताउँदै यो कविता सङ्ग्रहमा प्रयोग भएका शब्दहरु ब्रह्मास्वरुप रहेका चर्चा गरे।
पूर्वीय दर्शनका अध्येता एवं जीवन विज्ञानका संस्थापकसमेत रहनुभएका शर्माले शब्दको गरिराइमा पुग्यौँ भने शब्दब्रह्म भन्ने कुरा थाहा हुने भन्दै आस्तिक होस या नास्तिक, शब्द बुझ्यो भने उ तत्काल आध्यात्मिक हुने बताए। शब्दले शान्ति र क्रान्ति दुवै खडा गर्नसक्ने भन्दै उनले शब्दमै सृष्टि, स्थिति र लय हुने भएकाले शब्दब्रह्म कृति अमर रहेको बताए।
वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लेखकले कृतिमार्फत जीवन र जगतका बारेमा निर्मम प्रहार गर्ने प्रयास गर्नुभएको बताए। पत्रकारले कुन र कस्ता शब्दले प्रहार गर्दा त्यसको प्रभाव पर्छ भन्ने थाहा पाएकाले नै कविताका शब्दलाई बेजोड बनाउन सकेको अनुभव सुनाए।
वरिष्ठ पत्रकार बबिता बस्नेतले सात समुद्रपारि बसेर पनि नेपालका हरेक प्रकारका घटनामा जानकारी राख्ने लेखक आचार्यले समाजका कतिपय विकृतिहरुलाई उजागर गरेर समाजलाई सचेत गराउने प्रयास गरेको टिप्पणी गरे। अरु सबै अस्त्रहरु सकिएपछि ब्रह्मस्त्र प्रयोग गरिने प्रसङ्ग उल्लेख गर्दै कविता सङ्ग्रहमा प्रयोग भएका शब्द पनि ब्रह्मास्त्रकैरुपमा अध्ययन गर्न सकिने वरिष्ठ पत्रकार बस्नेतले उल्लेख गरे।
प्रकाशक संस्था आवरण प्रकाशनका अध्यक्ष कवि रमेश पौडेल र पत्रकारिताका प्राध्यापक डा निर्मलमणि अधिकारीले शब्दहरुको शक्तिले शब्दब्रह्म कविता सङ्ग्रहलाई शक्तिशाली बनाएको चर्चा गरे।
लेखक डा आचार्यले कृतिमा समेटिएका कविताले समाज, राजनीति, पत्रकार र आफैँमाथि पनि व्यङ्ग्य गरिएको बताउँदै शास्त्रीय किसिमका नभई शब्दको प्रयोग गरी समाजको आलोचना गर्ने किसिमले कविता प्रस्तुत गरिएको भनाइ राख्नुभयो। पत्रकार, राजनीतिज्ञदेखि लिएर सबै पेसा र व्यवसायका व्यक्ति नै शब्दका खेलाडी भएकाले शब्दको प्रयोगमा अनुशासित बन्न यस कविता सङ्ग्रहले सिकाउने उनले बताए।
शब्दब्रह्म कविता सङ्ग्रहमा शब्दब्रह्म, रजस्वला, आमा कि ईश्वर, गुरुदक्षिणा, म पुस्तक, हामी बालक, भाषाको धर्म, सहिद र स्यालुट, नेपाली, छोरी, जिन्दगी, मृत्युको गोलाप्रथालगायतका ५४ कविता सङ्ग्रहित छन्।