खजुरा– बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाहा) मा रहेका पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु गरिएको छ। नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घरपरिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाण–पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए।
उनका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को भदौमा गोश्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा–४ का करिब ५ सयको गाउँब्लकको जग्गाधनीपुर्जा तयार पारिएको छ। नरैनापुरमा रहेका ६ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताए। उनले ६ वटै वडामा करिब २ हजार ५ सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए।
मिश्रले भने, ‘अहिले वडा–४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी ४ सय बढीलाई पुर्जा विरतणको तयारी गरिएको छ।’ अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनले बताए।
नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाणपुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इस्त्यिाक अहमद साहले जानकारी दिए। ‘नापी हुन बाँकी गाउँब्लकको नापी प्रक्रिया अघि बढेको छ। जग्गा नभएका सबैले पुर्जा प्राप्त गर्नेछन्’, उनले भने।



