दोधारा चाँदनी–महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित संघर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुंगे पुलबाट दुईपांग्रे सवारी मात्रै आउजाउ हुन्थे। पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयको दुखेसो छ।
दोधारा चाँदनीतर्फको ३ हजार ५ सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन। २०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए। ‘दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानिन्छ तर यहाँ सिँचाइ सुविधा छैन’, उनले भने, ‘नेताहरु चुनावमा मात्रै हामी गर्छौँ भन्नुहुन्छ, त्यसपछि वास्ता गर्नुहुन्न ।’
यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्नबालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उनले बताए। २०२४ देखि कुतियाकवरमा बस्दै आएका मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेको सुनाइन्। ‘तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ’, सुनारले भनिन्, ‘यहाँ डुबान र कटान धेरै हुन्छ, बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरी गइसके।’
गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले दुखेसो पोखिन्। ४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन्।
स्थानीय वसन्ती साउदले दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताइन्। ‘हिउँदमा सिँचाइ अभाव हुन्छ, वर्षामा बाढीको त्रास’, उनले भनिन्, ‘बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ।’
दोधारा चाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेकबहादुर सुनारले बताइन्। ‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ’, सुनारले भनिन्, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता।’



