काठमाडौँ- भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौँ भृकुटीमण्डप परिसरमा आयोजना हुने नाडा अटो शोका लागि बुकिङ खुल्ला भएको छ। नाडाले एक विज्ञप्ति जारी गर्दै बुकिङ खुला गरिएको जानकारी दिएको हव।
हरेक वर्ष दसैँअघि आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेको थिएन। सन् २०२२ सरकारले सवारी साधनहरुको आयातमाथि लगाएको प्रतिबन्धका कारण आयोजना भएको थिएन।
नाडा अटो शो २०२३ मा विद्युतीयलगायतका चार पांग्रे, तीनपांग्रे तथा दुईपांग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने छन्। प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ।
४ वर्षपछि हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको नाडाले जानकारी दिएको छ।
कोभिडको दीर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गतवबर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा नाडाको छ। त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोबाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने बताइएको छ।


