काठमाडौं– मिटरब्याजका साहूले लिएको आठ बिघा जग्गा पीडितले फिर्ता पाएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मिटरब्याज पीडित हालसम्म आठ बिघा आठ कठ्ठा ९ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी छ। यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेको मन्त्रालयको भनाइ छ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ। आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये १ हजार ५ सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिए।
यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो। आयोगका सदस्य सुवेदीका अनुसार फस्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दा छन्।यसअघि अदालतबाट आफूहरुविरुद्धमा फैसला भएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका छन्।
आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने उनले बताए।
सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गत २० चैतको निर्णयानुसार जाँचबुझ आयोग गठन गरेको थियो।
२५ असारदेखि आयोगको म्याद सकिएपछि सरकारले पुनः तीन महिनाका लागि थपेको छ। आयोगले १७ वैशाखदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्य सञ्चालन गरिरहेको छ।


