काठमाडौँ- गत आर्थिक वर्षमा नेपालको आयात तथा निर्यात दुवै घटेको छ। गत आवका १२ महिनामा कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजारको आयात भएको हो।
गत आवको आयात अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत कम हो। अघिल्लो आवमा १९ खर्ब २० अर्ब बराबरको आयात भएको थियो।
यस्तै गत वर्ष निर्यातमा पनि उल्लेख्य कमी आएको छ। गत वर्ष १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अघिल्लो आवको तुलनामा २१.४४ प्रतिशतले कम हो। अघिल्लो आवमा २ खर्बभन्दा बढीको निर्यात भएको थियो।
आयात र निर्यात दुवै घट्दा समग्र व्यापार घाटामा पनि केही फरक पारेको छ। अघिल्लो वर्षभन्दा गत वर्षको व्यापारघाटा १५.४५ प्रतिशतले कम भएको छ। गत आवको व्यापार घाटा १४ खर्ब ५४ अर्ब हुँदा अघिल्लो आवमा यस्तो घाटा १७ खर्ब २० अर्ब रहेको थियो।
गत आवमा नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब पुगेको छ। अघिल्लो आवमा यस्तो व्यापार २१ खर्ब २० अर्ब रहेको थियो। नेपालको आयातको १०.२६ प्रतिशत निर्यात हुने गरेको विभागको तथ्यांकले उल्लेख गरेको छ।


