काठमाडौँ– नेपाल आयल निमगले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। एक सिलिन्डरमा रु १३० घटाइएको निगमले जानकारी दिएको छ। समायोजन भएको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ।
समायोजनसँगै यसअघि १७९० रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासलाई अब रु १६६० पर्नेछ।
निगमले पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रतिलिटर ९ रुपैयाँ र ७ रुपैयाँले वृद्धि गरेको छ। योसँगै अब काठमाडौँमा एक लिटर पेट्रोललाई १७३ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टीतेल १५३ रुपैयाँमा किन्न पाइनेछ। ग्यासमा भने देशभर एकै प्रकृतिको मूल्य राखिएको छ।
इन्डियन आयल कर्पोरेसनले साउन १६ नयाँ मूल्यसूची पठाएपछि निगमले पनि नेपालमा मूल्य समायोजन गरिएको जानकारी दिएको छ।
भारतले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेल/मट्टीतेलमा क्रमशः प्रतिलिटर ८ रुपैयाँ १४ पैसा र ६ रुपैयाँ ८६ पैसाले वृद्धि भई आएको छ। ग्यासको मूल्यमा प्रतिसिलिण्डर ११७ रुपैयाँ ६२ पैसाले घटेर आएको छ।
हवाई इन्धनको मूल्य भने यथावत् छ।



