काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन्। बुधबार मन्त्रालयमा भएको “मुलुकको आपूर्ति व्यवस्थाको समीक्षा र सहज तथा नियमित बनाउने विषयमा भएको छलफल कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन्।
आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने मन्त्री रिजालले स्पष्ट पारे। आपूर्तिसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरु सजग रही आपूर्ति श्रृंखलामा कुनै कमी कमजोरी हुन नदिन सबैले भूमिका निर्वाह गर्न निर्देशन दिँदै मन्त्री रिजालले मन्त्रालयको तर्फबाट अत्यावश्यक वस्तुको आपूर्तिमा सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।
छलफल कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारीहरु र आपूर्ति क्षेत्रसँग सम्बद्ध सार्वजनिक निकायका प्रमुखहरुको उपस्थिति थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, वस्तुगत संघलगायतका निजी क्षेत्रका प्रतिनिधिको समेत छलफल कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपूर्ति व्यवस्था सहज र व्यवस्थित बनाउन लाग्नुपर्ने बताए। कार्यक्रममा आसन्न चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने र भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको नीतिले सिर्जना गर्नसक्ने समस्या समाधान गर्ने विषयमा समेत छलफल भयो। विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारीहरुले आपूर्ति व्यवस्थालाई सहज, सरल र नियमित बनाउन आ आफ्नो निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको मौज्दात पर्याप्त रहेको बताउदै तत्कालै खाद्यान्न अभावको अवस्था सिर्जना नहुने र अनुचित मूल्यवृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।


