काठमाडौं– देशैभर निरन्तरको वर्षाका कारण चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।
आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ।
भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ।
धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्ड पूर्ण रूपमा अवरुद्ध छ। यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ। एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ।
बाढीपहिरोका कारण अवरुद्ध सडकमध्ये हाल ३४ सडक एकतर्फी मात्रै सञ्चालनमा छन्। डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन्।



