काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलका १० जना कर्मचारी फरार भएका छन्। फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन्।
भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा कीर्ते गरेको खुलेको प्रहरीको भनाइ छ।
नक्कली शैक्षिक प्रमाणपत्रमा आधारमा बैंकिङ सेवामा प्रवेश गरेको आरोपमा काठमाडौँ प्रहरी परिसरले सोमबार ६ जना सिटिजन्सका कर्मचारीलाई पक्राउ गरेको थियो। यसपछि थप कर्मचारी फरार हुने क्रम बढेको हो।
परिसरले बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन्।


