काठमाडौँ- सुन तस्करीमा संलग्न भएको आरोपमा पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीलाई यस्तो निर्देशन दिएको हो।
महराका बाबुछोराले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग पटकपटक सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले देखाएको थियो। २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराको सम्पर्क देखिएको थियो।
महरा बाबुछोरामाथि अनुसन्धान नगरी प्रहरीले अनुसन्धानको फाइल बुझाएपछि यस विषयमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न निर्देशन दिइएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
चिनियाँ नागरिक ली हानसोङले २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए।
डेढ महिनाभन्दा बढी समय भन्सारमा थन्किएको भेपको रूपमा रहेको ९ केजी सुन छुटाउन त्यहाँका कर्मचारी, गिरोहका सदस्य र बिचौलियाहरूले चलखेल गरेका थिए। उनीहरूले बजारबाट नयाँ सामान किनेर ल्याएर सुन राखिएका भेप अदलबदल गरेको आरोप लागेको छ। यो काममा महराका बाबुछोरा र सुन तस्करीमा संलग्न चीनियाँ नागरिकबीच पटक-पटक फोनमार्फत संवाद भएको अनुसन्धानले पुष्टि गरेको छ।
कृष्णबहादुरले चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेका थिए। सुन तस्करसँग महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ। राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिएको छ। तर पनि उनीहरू हालसम्म शक्तिको आडमा जोगाइएका छन्।
प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!


