काठमाडौँ– सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग प्रहरीले बयान लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको बताएको हो।
बयान लिनका लागि पुनलाई महाराजगञ्ज बोलाइएको प्रहरीको भनाइ छ। ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका व्यक्तिहरुसँग उनको उठबस देखिएपछि सीआईबीले बयान लिएको हो।
साउन २ गते राजश्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेकसुभित्र लुकाएर पैठारी गरिएको ठूलो परिणामको सुन बरामद गरेको थियो। सुनसहितको १५५ किलो ब्रेकसुबाट करिब ६१ किलो सुन निकालिएको थियो। उक्त प्रकरणमा सीआईबीले हाल अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा संलग्न भएको आरोपमा ६ जना विदेशी नागरिकसहित २५ जना पक्राउ परेका छन्।
सुन तस्करी प्रकरणमा संलग्न भनिएकाहरू माओवादीका थुप्रै नेताहरूको उठबस देखिएको छ। सुन तस्करीकै प्रकरणमा पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महराको सम्पर्क हुने गरेको सीआईबीले गरेको अनुसन्धानले देखाएको छ। उनका छोरा राहुल यो प्रकरणमा पक्राउ परिसकेका छन्।
६० किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन्। दावा परिवार र माओवादी नेता वर्षमान पुनको परिवारसँग पनि उठबस रहेको बुझिएपनि वर्षमानले भने आफूहरूमाथि निराधार आरोप थोपर्ने काम भइरहेको भन्दै गुनासो गरेका छन्।


