काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातह तहमा लागू गरेको शुल्कवृद्धि घटाउनका लागि समिति गठन गरेको छ। डीनको कार्यालयले सहप्राध्यापक हरिराम पराजुलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिमा धरानस्थित पूर्वाञ्चल क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्। यस्तै पुल्चोक क्याम्पसका स्ववियु सचिव पनि सदस्य छन्।
शुल्क घटाउने विषयमा राय दिन समितिले ७ दिनको म्याद पाएको छ।
संस्थानले शैक्षिक सत्र २०८०/०८१ देखि लागु हुने गरी स्नातक तहमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। शुल्कवृद्धि फिर्ताको मागसहित नेविसंघ पुल्चोकका नेता सुलभ चापागाईं आमरण अनशन बसेका थिए।
स्नातक तह इन्जिनियरिङको शुल्क ३ लाख १३ हजार रुपैयाँ रहेकोमा संस्थानले एकैपटक ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएको थियो।



