काठमाडौँ- काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरमा महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रिय सभागृह पुगेर मेयर बालेन्द्रले झण्डा ओढाएका हुन्।
बिहीबार बिहान निधन भएका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने भएको छ। १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२:३० बजेदेखि १:३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। त्यसपछि आजै उनको अन्त्येष्टि गरिनेछ।
निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवाले दुख व्यक्त गरेको उल्लेख छ।
‘स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याउनु भएको सत्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको थियो। २०२७ साल कात्तिकमा जन्मिएका रिजाल गत स्थानीय निर्वाचनमा काठमाडौँ-१६ बाट निर्वाचित भएका थिए। २०४६ सालको जनआन्दोलमा उनी प्रहरीको हिरासतमा पनि बसेका थिए।


