विराटनगर- कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेका छन्। शुक्रबार नै उनले मुख्यमन्त्री पदमा शथप लिने तयारी गरेका हुन्।
यसअघि बिहीबार मात्रै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई अवैधानिक ठहर गर्दै प्रदेश सभाको ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले हो। ९३ सदस्य हुने प्रदेश सभामा एमालेका ४० सांसद छन्।
सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालिसकेको छ।
मुख्यमन्त्रीसँगै दुई जनालाई मन्त्री बनाउने कार्कीको तयारी छ। उनीहरुको पनि शपथको कार्यक्रम शुक्रबार नै सम्पन्न गर्ने कार्कीको तयारी छ। कार्की निकट स्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्की मन्त्री बन्ने सूचीमा छन्। तिलकुमार मन्त्रीको अनुभव गरिसकेका सांसद हुन्।
गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन नसकेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। दुई पटक मुख्यमन्त्रीमा नियुक्त भएपनि उनले लामो समय काम गर्न पाएनन्। सर्वोच्च अदालतले पहिलो पटक उनको नियुक्ति नै बदर गरिदियो भने दोस्रो पटक उनले लिएको विश्वासको मतलाई अवैधानिक ठहर गरिदियो।
कोशीमा ढल्यो कांग्रेस सरकार, एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश


